प्रदेशका अस्थायी राजधानी तोकियो : सात नम्बर प्रदेशको अस्थायी मुकाम धनगढी
धनगढी । सरकारले ७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढीलाई तोकेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले तयार पारेको खाका अनुुसार ७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढीलाई तोकिएको हो ।
शहरी विकास मन्त्रालयले ७ वटै प्रदेशको अस्थायी राजधानीको खाका तयार पारेको जनाएको छ । मन्त्रिपरिषद कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा अस्थायी राजधानीको खाका तयार गरिएको बताए ।
उनका अनुसार प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को भक्तपुरको ठिमी, प्रदेश ४ को पोखरा, प्रदेश ५ को दाङ र प्रदेश ६ को सुर्खेतलाई अस्थायी राजधानी तोकिएको छ । सहरी विकास मन्त्रालयले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुने भएपछि राजधानी राख्न प्रस्ताव गरेको हो ।
मन्त्रालयका सहसचिव राजेन्द्र पौडेलको टोलीले प्रत्येक प्रदेशका सबै ठाउँको स्थलगत अध्ययन गरी ती स्थानमा अस्थायी राजधानीको प्रस्ताव गरेको हो । ‘टोलीले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुन्छ भनेर पठाएपछि हामीले खाका तयार पारेका हौं,’ प्रवक्ता पन्थीले भने, ‘अब आवश्यक अध्ययनपछि मन्त्रिपरिषदको बैठकले ती प्रस्ताव गरेका मुकामलाई तोक्नेछ ।’
अस्थायी रुपमा तोकिएका ती मुकाम प्रदेश सरकारले पुन: हेरफेर गर्न सक्नेछ । संवैधानिक रुपमा प्रदेश सरकारको दुई तिहाई बहुमतले राजधानी तोक्न सक्नेछ ।
सहसचिव पन्थीले भौतिक पूर्वाधार, कर्मचारीको उपलब्धता, सञ्चार, साधनको उपलब्धता र विद्युत् आपूर्तिको हिसाबले ती अस्थायी राजधानी तोकिएको बताए ।
७ नम्बर प्रदेशको मन्त्रालय कहाँ ?
शहरी विकास तथा भवन डिभिजन कार्यालय कैलालीले प्रादेशिक मन्त्रालयको रहने सम्भावित भवनहरु विवरण केन्द्रमा पठाएको थियो ।
कार्यालयले पठाएको विवरण अनुसार कैलालीको जिल्ला समन्वय समिति, शिक्षा कार्यालय, क्षेत्रीय वन निर्देशनालय, क्षेत्रीय पशुसेवा तालिम केन्द्र, सडक डिभिजन कार्यालय, सहकारी डिभिजन कार्यालय, सिचाई निर्देशनालय, क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र लगायतका भवन रहेका छन् ।