३१ भाद्र २०८१, सोमबार

तीन जना उम्मेदवारले मात्रै खर्च विवरण बुझाए



बैतडी । गत मंसिरमा भएको प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका बैतडीका १२ जना उम्मेदवारमध्ये हालसम्म तीन जनाले मात्रै चुनावी खर्च विवरण पेश गरेका छन् ।
निर्वाचनको मतपरिणाम प्रकाशन भएको तीन साताभन्दा पनि बढी बितिसक्दा समेत अझै नौ जना उम्मेदवारले खर्च विवरण पेस गर्न बाँकी रहेको छ ।
जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार खर्च विवरण पेस गर्ने उम्मेदवारहरूमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार, बाणिज्य राज्यमन्त्री नरबहादुर चन्द, नेकपा एमालेका तर्फवाट प्रतिनिधि सभा सदस्य दामोदर भण्डारी र प्रदेश सभा ‘क’ का राष्ट्रिय जनमोर्चाका तर्फवाट उम्मेदवार अर्जुनसिंह मडै रहेका छन् ।
उनीहरूले बुझाएको खर्च विवरणमा निर्वाचन आयोगले तोकेको खर्च सिमाभन्दा कम खर्च भएको विवरण पेस गरेको निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए । बाणिज्य राज्यमन्त्री चन्दले २४ लाख ३६ हजार तीन सय खर्च गरेको विवरण पेस गरेका छन् ।
उनले सबैभन्दा बढी खर्च गोष्ठी, कार्यक्रम तथा कार्यकर्ता परिचालनमा सात लाख ७८ हजार रुपैयाँ खर्च गरेको उल्लेख गरेका छन् ।
त्यस्तै कार्यालय सञ्चालनमा चार लाख ९५ हजार, सवारी साधनमा चार लाख ९० हजार , प्रतिनिधि परिचालनमा एक लाख ९५ हजार र प्रचारप्रसार सामग्रीमा ९५ हजार रुपैया खर्च भएको उल्लेख छ।
त्यस्तै, एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार भण्डारीले १७ लाख ४० खर्च भएको विवरण पेश गरेका छन् । भण्डारीले पनि सबैभन्दा बढी खर्च गोष्ठी, कार्यक्रम तथा कार्यकर्ता परिचालनमा तीन लाख ५० हजार रुपैयाँ खर्च भएको वितरण पेश गरेका छन् ।
यस्तै प्रचार सामग्रीमा तीन लाख १५ हजार, प्रतिनिधि परिचालनमा दुई लाख २५ हजार, सवारी साधनमा दुई लाख रुपैयाँ तथा विविध गरी कुल १७ लाख ४० रुपैयाँ खर्च भएको विवरणमा उल्लेछ ।
त्यस्तै, प्रदेश सभा ‘क’ का राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार रहेका मडैले ४८ हजार रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार