धनथला झोलुंगे पुल जीर्ण बन्दै
दार्चुला । चमेलिया नदीमा रहेको धनथला झोलुंगे पुल मर्मत सम्भार र संरक्षण हुन नसक्दा जीर्ण बन्दै गएको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीको धनथला र दार्चुलाको लेकम गाउँपालिका जोड्ने सो झोलुंगे पुल लामो समयसम्म पनि मर्मत सम्भार नहुादा उक्त पुल जीर्ण बन्दै गएको स्थानीय बताएका छन् ।
दार्चुलाको लेकम गाउँपालिका जोड्ने मुख्य पुलका रुपमा रहेको उक्त झोलुंगे पुल विसं २०५२ मा निर्माण सम्पन्न भएको थियो । पुल निर्माण सम्पन्न भएको २२ वर्ष बितिसक्दासमेत हालसम्म मर्मत सम्भार नहुँदा पुलका नटबोल्ट निक्लेर हराउँदै जानुका साथै खिया लागेर जीर्ण बन्दै गएको लेकम गाउँपालिका–१ सेजालीका मानबहादुर कार्कीले जानकारी दिए ।
पुलको उचित मर्मत सम्भार नहुादा कतिपय स्थानमा नट बोल्ट हराएको, जाली च्यातिएको तथा चर्किएको अवस्था छ, उनले भने– ‘स्टिल पाता उप्किएको छ भने छेउका तारवारसमेत भाँचिएको अवस्थामा छ ।’
पुलमा प्रवेश गर्नासाथ हल्लिने भएकाले डरलाग्ने गरेको छ । दिनहुँ सयौँ मान्छे ओहोरदोहोर गरिरहने पुल जीर्ण हुादै गएको भए पनि मर्मतका लागि कुनै पनि निकायले चासो नदेखाएको स्थानीय बासिन्दाको भनाइ छ ।
दार्चुला जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने लेकम गाउँपालिका अहिलेसम्म कुनै किसिमको सडक सञ्जालमा जोडिएको छैन् । उक्त पुलबाटै त्यहाँका नागरिक ओहोरदोहोर गर्ने गरेका छन् । दार्चुलाको लेकम र बैतडीको दोगडाकेदारमा दोहोरो बसाइका कारण पनि उक्त पुल भएर ओहोरदोहोर बढी हुने गरेको स्थानीय कमला कार्कीले बताए ।
वारिपारि दुवै ठाउँमा घर जग्गा जमिन भएकाले बढीजासो यसै पुलबाट ओहोरदोहोर गरिराख्नुपर्छ, उनले भने ‘राति अबेर तथा बिहान सबेरै त्यही पुल भएर जानुपर्छ, तर पुल जीर्ण बन्दै जादा समस्या हुने गरेको छ ।’
सडक सञ्जाल नपुगेको कारण समस्या भोग्दै आएका लेकमका नागरिकलाई पुल जीर्ण बन्दै जादा चिन्ता बढ्दै गएको छ । पुल जीर्ण बन्दै गएकाले सम्बन्धित निकायले ध्यान नदिएको लेकम गाउँपालिका–२ बिटोराका भूपिसिंह धामीको भनाइ छ ।
पुलमा एक व्यक्तिभन्दा बढीले ओहोरदोहोर गर्न नमिल्ने अवस्था छ, उनले भने– ‘पुल पिङ खेलेको जस्तै हल्लिने गर्छ, बच्चा, बुढा, अशक्त र अपांगता भएकालाई झनै अप्ठ्यारो हुन्छ ।’
यसको मर्मत सम्भारमा सम्बन्धित निकाय गम्भीर हुनुपर्छ, उनले भने, ‘अब यो ठाउँमा झोलुंगे पुल नभई पक्की पुल निर्माण हुनुपर्छ, जसले गर्दा लेकम क्षेत्रको यातायातका माध्यम घोडा खच्चडका लागि पनि सहज हुनेछ ।’
संरचना बनाउन लाखौँ/करोडौँ बजेट खर्च गर्ने गरिन्छ तर संरक्षणका लागि कसैले चासो नदेखाउँदा यस्तो अवस्था आएको हो । झोलुंगे पुल निर्माण भए पनि त्यसको दीर्घकालीन संरक्षणका लागि आवश्यक पहल नगरिँदा पुल जीर्ण बन्दै गएको स्थानीयको आरोप छ ।
सडकको पहुँच बाहिर रहेका यस क्षेत्रका नागरिकले घण्टौँ हिँडेर घर पुग्नुपर्ने बाध्यता छ । खाद्यान्नसमेत पिठ्युँमा बोकेर तथा घोडा खच्चरको सहयताले लैजानुपर्ने बाध्यता छ । लेकम गाउँपालिकाका स्थानीयले गाडी चढ्नसमेत चार/पाँच घण्टाको पैदल दूरी हिाडेर महाकाली राजमार्ग आउने गर्छन् ।
सडकको समस्याका कारण यहाँका नागरिकले सास्ती भोग्दै आएका छन् । लेकम गाउँपालिका जोड्ने ऐरिछाना धनथला क्षेत्रीय पर्यटन सडक निर्माण कार्य शुरु भएको लामो समयसम्म पनि बन्न नसक्दा यस क्षेत्रका जनता सडकको अभावमा सास्ती भोग्दै आएका छन् ।
जीर्ण बन्दै गएको धनथला झोलुंगे पुलको हाल मर्मतसम्भार लागि कुनै पनि बजेट नछुट्याएको लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले बताए । पुल जीर्ण बन्दै गएको भए पनि आवतजावतमा कुनै बाधा परेको छैन, उनले भने– ‘आवतजावतमा बाधा आयो भने गाउापालिकाले मर्मत सम्भार गर्नेछ ।’
लेकम गाउँपालिका जोड्ने गरी ऐरिछाना धनथला क्षेत्रीय पर्यटन सडक निमार्ण कार्य शुरु भएकाले अब उक्त स्थानमा पक्की पुल निर्माण हुनेसमेत उनले बताए ।