११ श्रावण २०८१, शुक्रबार

प्रदेशको समानुपातिकको सिट बाँडफाँट : समानुपातिकमा १३ दलले सिट पाए



धनगढी । निर्वाचन आयोगले प्रदेश सभाको समानुपातिक तर्फको सिट फाँडफाँट गरेको छ । आयोगका अनुसार प्रदेश सभाको समानुपातिक तर्फका दुई सय २० सिटमा १३ वटा दलका प्रदेश सभा सदस्य रहने भएका छन् ।
दुई सय २० सिटमध्ये सबैभन्दा बढी नेकपा एमालेले सिट पाएको छ । एमालेले ७५ सिट पाएको छ ।
त्यस्तै, नेपाली कांग्रेसले ७२ सिट प्राप्त गरेको छ । माओवादी केन्द्रले ३५ सिट पाएको छ । प्रदेश सभाको समानुपातिक तर्फ चौथो ठूलो पार्टीे संघीय समाजवादी फोरम नेपाल बनेको छ । संघीय समाजवादी फोरमले १३ सिट प्राप्त गरेको छ ।
त्यस्तै, राष्ट्रिय जनता पार्टीले १२ सिट पाएको छ । भने राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा पार्टीले ३/३ सिट पाएका छन् ।
त्यस्तै, राष्ट्रिय जनमोर्चाले दुई तथा नयाँ शक्ति पार्टी नेपाल, संघीय लोकतान्त्रिक मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदूर किसान पार्टी र राप्रपा प्रजातान्त्रिक पार्टीले एक/एक सिट प्राप्त गरेका छन् ।
७ नम्बर प्रदेशमा चार वटा दलले मात्र प्रदेश सभा समानुपातिक तर्फको सिट पाएका छन् ।
प्रदेश नम्बर ७ मा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीले मात्र सिट पाएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार ७ नम्बर प्रदेशमा सात लाख ९१ हजार ७२ मत सदर भएको थियो ।
यस प्रदेशमा थ्रेस होल्ड कटेको भए पनि तर सिट नपाएको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ । एक दशमलव पाँच प्रतिशत भन्दा कम मत पाउने दल (थ्रेशहोल्स भन्दा कम मतको गणना भएको) यस प्रदेशमा १५ वटा दल रहेका छन् ।
प्रदेश नम्बर ७ मा समानुपातिकतर्फ २१ सिट रहेकोमा नेपाली काँग्रेस र नेकपा एमालेले आठ/आठ सिट पाएका छन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रले चार र राष्ट्रिय जनता पार्टीले एक सिट पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार