१२ श्रावण २०८१, शनिबार

फारवेष्ट पशुपति कप फुटवल : पिएफए र फारवेष्ट बीच उपाधीका लागि आज भिडन्त



धनगढी । ग्यालेक्सी पव्लिक स्कुल फारवेष्ट पशुपति कपको फाइनल आज हुँदै छ । फाइनलमा आयोजक फारवेष्ट पशुपति युवा क्लव र पिएफए (प्ले फर अत्तरिया) अत्तरियाबीच उपधीका लागि भिडन्त हुँदैछ ।
प्रतियोगिता मंसिर २८ गतदेखि सुरु भएको थियो । तीन वर्षदेखि यो प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।
पहिलो संस्करणको विजेता हसनपुर युवा क्लव रहेको थियो भने दोस्रो संस्करणमा सुदुरपश्चिम ११ स्पोर्टस क्लव विजेता वनेको थियो ।
फाइनल प्रतिस्पर्धा निकै रोमाञ्चक हुने आशा गरिएको छ । पिएफए अत्तरिया डिफेन्डीङ च्याम्पियन सुप ११ लाई सेमिफाइनलमा हराएका कारण उच्च मनोवलका साथ मैदान उत्र्रिने छ ।
त्यस्तै, आयोजक फारवेष्ट पशुपति पनि सेमिफाइनलमा पाएको ७ गोल अन्तरको फराकिलो जितवाट जोशका साथ मैदानमा उत्रिने छ ।
पिएफए अत्तरियामा दुई जना विदेशी खेलाडी रहेका छन् भने चार जना वाहेक अन्य खेलाडीहरू ए डिभिजन लिगका सदस्य रहेका छन् ।
मिडफिल्डर यु १९ नेपाली टीमका अभिशेष रिजाल दोहोरो पहेलोको कार्ड पाएका कारण फाइनल गुमाउँदा उनको स्थानमा यु १९ का अर्का खेलाडी दिनेश योञ्जन मैदानमा उत्रिने पिएफए अत्तरियाका कप्तान गजेन्द्र शाहीले बताए । गजेन्द्रकै कप्तानीमा रहेको पहिलो संस्करणमा हसनपुर युवा क्लव विजेता वनेको थियो ।
आयोजक फारवेष्ट पशुपति युवा क्लव भने तीन वटै सिजनमा फाइनलसम्म पुगेको छ । तीन जना विदेशी खेलाडी र एक जना ए डिभिजनको सशक्त क्लव थ्रीस्टारवाट खेलिसकेका खेलाडी रहेका छन् । सवै खेलाडीहरूले राम्रै खेलिरहेकोले तेस्रो पटकको मौकामा च्याम्पियन बन्ने आयोजक फारवेष्ट पशुपति युवा क्लवका कप्तान नवीन सिंहले बताए ।
धनगढी रंगशालामा शनिबार दिउँसो हुने उपाधि भिड्न्तका लागि तयारी पनि गरिसकिएको आयोजकले जनाएको छ । शुक्रबार धनगढीमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । ट्रफी सार्वजनिक पछि आयोजक फारवेष्ट पशुपति युवा क्लवका अध्यक्ष खेम रावतले उपाधी भिडन्तको प्रतीक्षामा रहेको बताए ।
पाँच लाख रुपैयाँ पुरस्कार राशि रहेको फारवेष्ट पशुपति कपको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, पाँच विधामा उत्कृष्ट खेलाडीले जनही १०/१० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार