१८ आश्विन २०८१, शुक्रबार

कैलाली खुला दिसामुक्त बन्दै



धनगढी । कैलालीका चार वटा स्थानीय तह खुल्ला दिसामुक्तको अन्तिम चरणमा रहेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिका खुल्ला दिसामुक्तको अन्तिम चरणमा रहेको जनाइएको छ ।
चार वटा स्थानीय तहका सम्पूर्ण घरदुरीमा शौचालय निर्माण भइसकेको र जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको निर्णय पछि बृहत कार्यक्रम गरी खुल्ला दिसामुक्त घोषणा गर्ने तयारी भइरहेको छ । १३ वटा स्थानीय तह रहेको कैलाली जिल्लामा आठ वटा स्थानीय तह यसअघिनै खुल्ला दिसामुक्त घोषणा भइसकेका छन् ।
मंगलबार जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको आयोजनामा सेवक नेपाल, वेश कैलाली, सुआहाराको सहयोगमा जोशीपुर गाउँपालिकाको सम्पूर्ण वडाहरूको अनुगमन गरिएको छ । सात हजार छ सय ४८ घरधुरी रहेको सो गाउँपालिकाका सम्पूर्ण अनुगमनका क्रममा खुल्ला रूपमा दिसा गरेको पाइएको थिएन् । एक सय ३२ घरधुरी विपन्न रहेको सो गाउँपालिकामा सेवक नेपाल सेफ वास–२ र गाउँपालिकाको सहयोगमा शौचालय निर्माण सामग्री प्रदान गरिएको छ । सो घरधुरीले आफनो घरमा चर्पी निर्माण गरिरहेको र अहिले साझा चर्पीको प्रयोग गरिरहेको पाईएको छ ।
जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका ईन्जिनियर पुष्पराज उप्रेतीले विगतमा खुल्ला दिसा गर्दै आएको यस जिल्लामा क्रमिक रूपमा सुधार हुँदै आएको बताए । ‘पहिला मानिसहरू शौचालयको प्रयोग गर्दैन्थे, खुल्ला ठाउँमा दिसापिसाव गर्थे’ उनले भने ‘अहिले विपन्न घरधुरीमा शौचालय नभएपनि छिमेकीको शौचालय प्रयोग गरिरहेको पाइएको छ ।’ उनले अहिले बाटोमा खुल्ला रूपमा दिसा देखिने अवस्था नरहेको बताए ।
खुल्ला दिसामुक्तको पटक–पटक मिति सार्दै आएको कैलाली जिल्ला घोषणाको अन्तिम तयारीमा रहेको छ । जिल्लाको सबै गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका अन्तिम चरणमा रहेपनि लम्की चुहा नगरपालिकाले घोषणाको मिति तय गर्न सकेको छैन् । सो नगरपालिकाले यहि ९ गतेको बैठकबाट घोषणाको मिति तय गर्ने भनि जानकारी दिएको ईन्जिनियर उप्रेतीले बताए ।
यसअघि कैलालीका १३ वटै स्थानीय तहका जनप्रतिनिधिहरूले जिल्लालाई मंसिर महिनाको पहिलो साताभित्र खुला दिसामुक्त जिल्ला घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेपनि सो कार्य हुन सकेन् ।
सरसफाई रणनीति–२०६८ ले कैलाली जिल्लालाई सन् २०१६ भित्रै खुला दिसामुक्त गर्ने लक्ष्य लिए पनि असफल भएपछि यहाँका जनप्रतिनिधिहरूले मंसिर पहिलो साताभित्रै जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । जिल्लामा एक लाख ५२ हजार चार सय ९४ घरधुरी रहेकोका छन् ।
जिल्लामा आठ लाख ४४ हजार चार सय ३३ जनसंख्या रहेकोमा आठ लाख २६ हजार नौ सय ५१ (९७.९३ प्रतिशत) खानेपानीबाट लाभन्वित रहेको भएपनि सुरक्षित तथा व्यवस्थित खानेपानी सुविधा भएका जनसंख्या ६० प्रतिशत मात्र रहेका छन् । सबै घरधुरीमा शुद्ध खानेपानीको पहुँच पुर्‍याउन नसकिनुमा खानेपानीको आयोजनाको नाममा न्यून बजेट विनियोजन हुनु प्रमुख समस्या रहेको छ ।
७ नम्बर प्रदेशको कैलाली, कञ्चनपुर र दार्चुला अझै खुल्ला दिसामुक्त घोषणा गर्न बाँकी रहेको छ । कञ्चनपुर जिल्लालाई ७ गतेभित्रै खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिदै छ भने कैलाली जिल्लाले पनि यहि पुसको तेस्रो साताभित्र खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार