६ कार्तिक २०८१, मंगलवार

प्रतीक्षामा जनता– जनप्रतिनिधिहरूले आफ्नो प्रतिवद्धता कहिले पुरा गर्छन् ?



धनगढी । निर्वाचनताका हरेक दल तथा उम्मेदवारले आकर्षक चुनावी मुद्दा लिएर मतदातासमक्ष पुगे । गाउँमा आधारभूत सुविधा उपलब्ध गराउनेदेखि ‘स्मार्ट सिटी’ बनाउनेसम्मका योजना सुनाए । ठाउँअनुसार बाढीबाट जोगाउने, गाउँका सडक व्यवस्थित गर्ने, कतै पनि फुसका घर नदेखिने अवस्था ल्याउनेसम्मका आश्वासन दिन भ्याए ।

फाइल तस्बिर

चुनाव भइसकेको छ । अहिले जीतेका तथा पराजित प्राय: राजनीतिक दल तथा उम्मेदवारहरू मतदातालाई धन्यवाद दिन गाउँवस्ती घुमिरहेका छन् । धन्यवाद तथा आभार प्रकट गर्न आएका विजेताहरूलाई मतदाताले चुनावताका जनसमक्षा प्रस्तुत गरेका प्रतिवद्धता पुरा गर्न स्मरण गराइरहेका छन् । विगतमा चुनावपछि प्राय: विजेताले आफूले गरेका बाचा भूल्ने गरेको तितो यथार्थ अहिले पनि अधिकांस मतदाताले स्मरण गरिरहेका छन् । त्यसैले उनीहरूमा अहिले पनि शंकाको भाव छ । ‘पहिलेका चुनावमा पनि अनेक वाचा सुनिएकै हो’ मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरी भन्छन्– ‘धेरैजसो प्रतिवद्धता पूरा भएनन् । तर, उनी अहिले प्रदेशकै सरकार पनि बन्ने भएकाले विकास हुनसक्ने आशा पनि व्यक्त गर्दछन् ।’
उनले विगतका तुलनामा यस पटकको निर्वाचनमा मतदाता बढी सचेत रहेको अनुभव रहेको बताए । अहिले ग्रामीण क्षेत्रका मतदाता पनि खुलेर नेतासमक्ष विकास माग गर्न थालेका छन् । ‘अब पहिलेजस्तो विकास गर्छु मात्र भनेर आश देखाउने र अर्को चुनावसम्म मुखै नदेखाउने हिम्मत नै कसैले पनि नगर्लान्’ उनले भने– ‘सचेत मतदाताले अब गाउँको विकासमा किन ध्यान नदिएको भनेर प्रश्न गर्न थालिसकेका छन् ।’
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद नारदमुनी राना निर्वाचन अघिजस्तै अहिले मतदाता घरमा धन्यवाद दिन घरदैलो गरिरहेका छन् । उनले घरदैलोका क्रममा विगत जस्तै निर्वाचित सांसदहरूको व्यवहार नगर्न सुझाव पाइरहेका छन् ।
विगतका निर्वाचनको समयमा धनगढी विमानस्थलको स्तरोन्नती, गौरीफन्टा नाकाको स्तरोन्नती, नदी कटान नियन्त्रण, आर्थिक विशेष क्षेत्र, स्मार्ट सिटी लगायतका एजेण्डा प्रस्तुत भएका थिए । त्यस्तै, रानाथारूको सूचीकरण, थारू संस्कृतिको संरक्षण प्रर्वद्धन, मुक्त कमैयाको पुनस्र्थापना, लोपोन्मुख जातीहरूको संरक्षण लगायतका एजेण्डा पनि अघि सारेका थिए ।
चुनावी परिणामले पनि मतदाता धेरै सचेत भएको पाइन्छ । २०७० सालभन्दा कैलाली जिल्लामा मत परिणाम विल्कुल फरक देखिएको छ । २०७० सालमा कैलालीको क्षेत्र नम्बर ६ बाट काँग्रेस सभापति शेरबहादुर देउवा र उपनिर्वाचनमा पुष्करनाथ ओझा विजयी भएका थिए । यस पटको निर्वाचनमा क्षेत्र नम्बर ५ बाट एमालेका राना निर्वाचित भएका छन् । विश्लेषकहरू यस पटक बाम गठबन्धनका कारणले चुनावी परिणाममा तात्विक अन्तर आएको त ठान्छन् नै, संगसंगै तीब्र आर्थिक समृद्धिको आकांक्षा गरिरहेका र युवा मतदाताको परिवर्ततप्रतिको चाहनाले पनि निर्वाचन परिणाममा ठूलो परिवर्तन आएको बताउँछन् ।

पुस ०४ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार