१६ बैशाख २०८१, आईतवार

समानुपातिकतर्फको मतगणना सकियो : प्रदेश नम्बर ७ मा तीन दललाई मात्र समानुपातिक सिट



धनगढी । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगले शनिबार समानुपातिकतर्फको मतगणना सकिएको जनाएको छ ।
समानुपातिकतर्फको मतगणना नतिजाअनुसार पाँच वटा दलले मात्र राष्ट्रिय पार्टीको मान्यता पाउने छन् । प्रत्यक्षमा कम्तिमा एक सिट जितेको तथा खसेको मतको कम्तिमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्ने थ्रेसहोल्ड प्रावधानका कारण नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता दलले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ ।
समानुपातिकतर्फ नेकपा एमालेले ३१ लाख ६१ हजार मत प्राप्त गरेको छ । भने नेपाली काँग्रेसले ३१ लाख ११ हजार मत प्राप्त गरेको छ । त्यस्तै, माओवादी केन्द्रले करिब १३ लाख मत प्राप्त गरेको छ ।
यता, प्रदेश नम्बर ७ मा भने नेपाली काँग्रेसले समानुपातिकमा सबैभन्दा बढी मत पाएको छ । एमालेभन्दा झण्डै ३५ हजार मत बढी पाएको काँग्रेसले दुई लाख ९५ हजार सात सय २९ मत प्राप्त गरेको छ ।
नेकपा एमालेले दुई लाख ६० हजार नौ सय ५५ र माओवादीले एक लाख ४२ हजार सात सय दुई मत पाएका छन् । त्यस्तै, राष्ट्रिय जनता पार्टीले ३६ हजार नौ सय दुई र राष्ट्रिय प्रजातन्त्र पार्टीले १५ हजार चार सय ४४ मत ल्याएको छ ।
निर्वाचन आयोगले कुन दलले कति सिट पाउने भन्ने भनिसकेको छैन । सेन्ट लग मेथडका आधारमा कांग्रेस र एमालेले प्रदेश नम्बर ७ मा आठ/आठ सिट पाउने सम्भावना छ । भने माओवादी केन्द्रले चार र राजपाले एक सिट पाउने सम्भावना छ ।
एमाले प्रदेश सभामा प्रत्यक्षतर्फ १७ सिट जितेको छ । माओवादी केन्द्रले १० र नेपाली कांग्रेसको चार सिट जितेको छ । भने राजपाले एक सिट जितेको छ ।
समानुपातिकसहित प्रदेश नम्बर ७ को प्रदेश सभा कुल ५३ सदस्यीय हुने छ ।

मंसिर ०२ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार