१५ बैशाख २०८१, शनिबार

सुदुरपश्चिम ११ का दुवै टोली क्वाटरफाईनमा प्रवेश



धनगढी । सुदुरपश्चिम ११ स्पोर्टस क्लवका दुवै टोली धनगढीमा जारी तेश्रो संस्करणको ग्यालेक्सी पव्लिक स्कुल फारवेष्ट पशुपति कप फुटवल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेको छ । आज भएका दुवै खेलमा जित हात पार्दै सुदुरपश्चिम ११ को ए र वी टीम अन्तिम आठमा पुगेका हुन ।
धनगढी रंगशालामा आज भएकोे पहिलो खेलमा सुदुरपश्चिम ११ ए ले नेपाल प्रहरी प्रदेश नम्वर ७ लाई ४–० को फराकिलो अन्तरले किनारा लगाएको हो । पहिलो हाफ गोल रहित वरावरी भएपनि दोस्रो हाफमा चारै गोल गर्दै सुदुरपश्चिम ११ ले सानदार जित दर्ता गरेको हो । जितमा विनोद केसीले दुई गोल गरे भने जीवन चौधरी र रामसिंह रानाले एक एक गोल गरे ।
दोस्रो हाफको ५३ औं मिनेटमा जीवनले गोलको खाता खोलेपछि त्यसको २ मिनेटपछि खेलको ५५ औं मिनेटमा विनोदले दोस्रो तथा खेलको ६५ औं मिनेटमा उनले टीमका लागि तेस्रो र व्यक्तीगत दोस्रो गोल गरे । खेलको ७१ औं मिनेटमा रामसिंहले गोल थप्दै ४–० को फराकिलो जित दिलाए । दुई गोल गरेका विनोद केसी म्यान अफ द म्याच भए ।
सुदुरपश्चिम ११ ए का प्रशिक्षक ललीत चन्दले चार जना सेटका खेलाडीहरुको अभावमा सुरुमा खेलमा तालमेल नभएपनि दोस्रो हाफमा रणनिति फेरेका कारण सहज जित दर्ता गरेको वताए । नेपाल प्रहरी प्रदेश नम्वर ७ का प्रशिक्षक सुरेन्द्र वमले खेलाडीहरुको विचमा तालमेल नमिल्नु र दोस्रो हाफमा जित्नका लागि गोल गर्नेतर्फ वढी ध्यान दिदा हार व्यहोरेको वताए ।
धनगढी रंगशालामा आज नै भएको दोस्रो खेलमा पनि सुदुरपश्चिम ११ वी ले पशुपति स्कीमिमर्सलाई ५–० को फराकिलो अन्तरले किनारा लगायो । खेलको सुरुवातदेखि नै दवावमा राख्दै राजीव चौधरीको ह्याट्रिकमा सुदुरपश्चिम ११ वी ले सानदार जित दर्ता गरेको हो । खेलको पहिलो हाफको चार मिनेटमा हिक्मत खत्रीले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाए । पहिलो हाफकै २१ औं मिनेटमा रुपेश चौधरीले गोल गर्दै अग्रता दोव्वर पारे । दोस्रो हाफको ४४ औं मिनेटमा व्यक्तीगत पहिला र टीमका लागि तेस्रो गोल गरेका राजीवले ४७ औं र ६५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । उनी खेलको म्यान अफ द म्याच समेत भए ।
सुदुरपश्चिम ११ वी का प्रशिक्षक सुरेश हमालले सोचे अनुसारको प्रदर्शन गरेको र १८ वर्ष मुनिका खेलाडीहरुको टीमको आपसी तालमेल राम्रो हुँदा सहज जित हात पार्न सफल भएको वताए । स्कीमिमर्सका प्रशिक्षक अमित जैरुले पहिलो पटक ठुलो प्रतियोगिताा खेल्न पाएकोमा खुशी व्यक्त गर्दै राम्रो खेलेको र सुरुवातमै गोल खाँदा दवावमा खेल्नु परेको वताए ।
झण्डै ५ लाख नगद पुरस्कार राशी रहेको प्रतियोगिता अन्तर्गत भोली पनि दुई वटा खेल हुनेछन । धनगढी रंगशालामा हुने पहिलो खेलमा स्पोर्टस स्कुल फुटवल एकेडेमी दाङ र हसनपुर युवा क्लव वीत प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा मंगल युवा क्लव चौमला र न्यु वुद्ध युवा क्लव फुलवारी विच प्रतिस्पर्धा हुनेछ ।
मंसीर २८ गतेदेखि सुरु भएको प्रतियोगिता पुस ८ गतेसम्म सञ्चालन हुनेछ । फारवेष्ट पशुपति युवा क्लवले आयोजना गरेको प्रतियोगिताका विजेताले ३ लाख उप विजेताले डेढ लाख र विभिन्न ५ विधाका उत्कृष्ट खेलाडीले जनही १० हजारका दरले ५० हजार गरी ५ लाख वढी नगद पुरस्कार पाउनेछन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार