प्रधानमन्त्रीले राजिनामा दिनुपर्नेः रावल
धनगढी । नेकपा (एमाले) का उपाध्यक्ष भीमवहादुर रावलले चुनावी परिणाम स्वीकार गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिनु पर्ने बताएका छन ।
आज धनगढीमा आयोजित प्रतिनीधिसभा र प्रदेशसभाका बिजयी उम्मेदवारलाई बधाई तथा सम्मान कार्यक्रममा वोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रावलले चुनाव हारेको र कामचलाउ भएको सरकारले नियुक्ती, वढुवा जस्ता काम गर्नु नैतिकरुपमा गलत काम भएको दावी गरे ।
नेता रावलले आफूलाई निक्कै लोकतन्त्रबादी भन्ने प्रधानमन्त्री देउवाले लोकतान्त्रिक संस्कार देखाउनु पर्ने बताए । उनले एमाले अध्यक्ष केपीशर्मा ओलीले लोकतन्त्रकै लागि १४ बर्ष जेल बसेको उदाहरण दिदै बामगठवन्धनलाई कसैले लोकतन्त्र सिकाउन जरुरी नभएको बताए ।
चुनावी धपेडीले थाक्नु भएको छ अव आराम गर्दा राम्रो हुन्छ त्यसपछि सहि निर्णय गर्ने सोच आउनसक्छ प्रधानमन्त्री तथा काग्रेस सभापति देउवा लक्षित गर्दे उनले भने अनेकौ वहाना गर्दे चुनावको नतिजा स्वीकार गर्न नसेकर अहिले पनि सत्ता हस्तान्तरणमा ढिलाई गर्नु लोकतान्त्रिक व्यवहार होइन ।
सोही अवसरमा वोल्दै नेता रावलले विभिन्न अवस्थाको अध्ययन गर्दे प्रदेशको राजधानी प्रदेशसभाले तोक्ने बताए । मुख्यमन्त्री छान्ने विषयमा पनि उनले समानूपातिकसहितको सम्पूर्ण परिणाम आएपछि को मुख्यमन्त्री हुने भन्ने टुङ्गो लाग्ने बताए ।
एमाले र माओवादी पार्टी एकताका बिषयमा कुनै चिन्ता नलिन आग्रह गर्दे उनले एकता हुन्छ त्यसका लागि नवनिर्वाचित जनप्रतिनीधि र आम कार्यकर्ताले पनि आ–आफ्नो ठाउँबाट योगदान गर्न जरुरी छ । हामी नेता, कार्यकर्ताका वीचमा पार्टी एकताका सवालमा कुनै सन्देश छैन तर एकता विरोधीतत्वले अनेक हल्ला चलाइरहेका छन उनको भनाइ थियो ।
सोही कार्यक्रममा वोल्दै माओबादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य लेखराज भट्टले चुनाब एकता र परिणामका हिसावले नेपालमा नयाँ इतिहास रचना भएको बताए । उनले दुई जिम्मेवार पार्टी अध्यक्षहरु, नेता, कार्यकर्ता र जनताको पहलले यो ऐतिहासिक परिणाम आएको पनि बताए । नेता भट्टले पनि पार्टी एकता अब कसैले रोक्न नसक्ने बताए । चुनावी एकता परिणाम र पार्टी एकताले विश्व कम्यूनिष्ट आन्दोलनलाई नै नयाँ सन्देश दिने विश्वास पनि उनले व्यक्त गरे ।
एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारीको अध्यक्षतामा भएको कार्यक्रममा अछाम क्षेत्र नम्वर १ बाट निर्वाचित नेता रावल, कैलाली क्षेत्र नम्वर ४ बाट निर्वाचित अर्का नेता भट्ट, डोटीका सांसद प्रेम आलेमगर र कैलालीबाट निर्वाचित प्रतिनीधिसभा र प्रदेशसभाका ११ जना नवनिर्वाचित सांसदहरुलाई सम्मान गरिनुका साथै प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम माओबादी केन्द्रका जिल्ला संयोजक लालबहादुर सोडारीले सञ्चालन गरेको कार्यक्रममा एमाले सचिव रणबहादुर चन्दले स्वागत गरेका थिए ।
यसैवीच एमाले उपाध्यक्ष भीम रावलले एक प्रेस विज्ञप्ती जारी गरेर प्रतिनीधिसभामा १६ मा १४ र प्रदेशमा ३२ मा २७ सीट बामपन्थीलाई जिताउने सात नम्वर प्रदेशका जनतालाई धन्यवाद दिएका छन । उनले सात नम्वरमा एमालेलाई केन्द्रका १६ मा ११ र प्रदेशका ३२ मा १७ स्थान जिताएकोमा पनि विषेश धन्यवाद दिएका छन । निर्वाचन सफल पार्न भूमिका खेल्ने आम जनता, सुरक्षा निकाय, निर्वाचन आयोग, कर्मचारीलाई पनि धन्यवाद दिन्छौ विज्ञप्तीमा भनिएकोे छ ।
निर्वाचन परिणामले मुलुकमा अव शान्ति, स्थिरता, बिकास, सार्वभौमिकता, स्वाधिनता, स्वातन्त्रताको ग्यारेन्टी हुने विश्वास पनि नेता रावलले विज्ञप्तीमा उल्लेख गर्नु भएको छ ।