६ कार्तिक २०८१, मंगलवार

आम निर्वाचन–२०७४ : कैलाली प्रतिनिधिसभाका ३ सिटमा बाम उम्मेदवार विजयी



धनगढी । निकै चासो र चर्चामा रहेको कैलाली निर्वाचन क्षेत्र नम्वर ५ मा बाम गठबन्धनका उम्मेदवार नारदमुनी राना प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनी निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार डाक्टर आरजु राणा देउवाभन्दा चार हजार आठ सय बढी मतसहित विजय भएका छन् ।
आइतवार दिउँसो सार्वजनिक गरिएको मत गणनाको अन्तिम नतिजाअनुसार रानाले २७ हजार दुई सय दुई मत प्राप्त गरे । काँग्रेस उम्मेदवार डाक्टर देउवाले २२ हजार तीन सय २२ मत प्राप्त गरेकी थिइन् ।
९१ हजार आठ सय १८ मतदाता रहेको कैलाली क्षेत्र नम्बर ५ मा ६१ हजार नौ सय ३४ मत खसेको कैलालीका प्रमुख निर्वाचन अधिकृत बिष्णुप्रसाद अर्यालले बताए ।
निर्वाचित प्रतिनिधि सभा सदस्य रानाले आफूले चुनावताका जनतामाझ व्यक्त गरेका सबै प्रतिवद्धता पुरा गर्न प्रयासरत रहने बताए ।
त्यस्तै, प्रतिनिधिसभाको क्षेत्र नम्बर ४ बाट माओवादी केन्द्रका सचिवालय सदस्य लेखराज भट्ट र क्षेत्र नम्बर ३ बाट बाम गठबन्धका उम्मेदवार माओवादी केन्द्रका पोलिटव्युरो सदस्य गौरीशंकर थारू विजयी भएका छन् ।

लेखराज भट्ट
क्षेत्र नं. ४

आइतबार राति १० बजे घोषित परिणामअनुसार पूर्वमन्त्री समेत रहेका नेता भट्ट २७ हजार ५४४ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी काँग्रेसका सुनिलकुमार भण्डारीले १८ हजार १४२ मत प्राप्त गरे ।
पूर्व कृषिमन्त्री समेत रहेका थारूले पूर्वमन्त्री रामजनम चौधरीलाई पराजित गरेका हुन् । थारूले चौधरीलाई चार हजार ३८५ मतले पराजित गरेका हुन् ।
बाम गठबन्धनका उम्मेदवार थारूले २४ हजार ८७९ मत प्राप्त गरे भने लोकतान्त्रिक गठबन्धनका चौधरीले २० हजार ४९४ मत पाएका छन् । विजयी थारू यसअघि साविकको क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए ।
सधै चुनाव जित्ने चौधरी पहिलो पटक पराजित भएका हुन । उनी कैलालीबाट ०४८, ०५१, ०५६ र ०७० सालमा निर्वाचित भएका थिए भने ०६४ मा समानुपातिक सभासद थिए । उनी पटक–पटक मन्त्री भइसकेका छ्न ।

गाैरीशंकर थारू
क्षेत्र नं. ३

क्षेत्र नम्बर ३ को प्रदेश सभा १ र २ को आज (सोमबार) बिहानसम्म परिणाम आउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दुवै प्रदेशमा प्रदेश १ मा माओवादी नेता वीरभान चौधरी र प्रदेश २ मा एमालेका अमर साउँद अग्रस्थानमा छन् ।

प्रदेशमा पन्त र चौधरी
क्षेत्र नम्बर ५ को प्रदेश सभा सदस्य क मा बाम गठबन्धनका उम्मेदवार नेपालु चौधरी विजयी भएका छन् । उनले ठूलो मत अन्तरले नेपाली काँग्रेसका उम्मेदवार जीवन कुमारी रानालाई पराजित गरे । त्यस्तै, ख क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार डिल्लीराज पन्त विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी बाम गठबन्धनका उम्मेदवार रमेश धामीलाई एक हजार सात सय बढी मतले पराजित गरे ।
कैलालीका अन्य क्षेत्रको मतगणना जारी रहेको छ । मतगणनामा जारी कैलालीको क्षेत्र नम्बर २ मा बाम गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् । क्षेत्र नम्बर १ मा भने राष्ट्रिय जनता पार्टीका उम्मेदवार रेशम चौधरी निकै फराकिलो मत अन्तरले अग्रता जारी राखेका छन् ।
२०७२ साल भदौमा भएको टीकापुर घटनाका आरोपित रेशम हाल फरार अवस्थामा छन् । उनले वारेशमार्फत उम्मेदवारी मनोनयनपत्र दाखिला गरेका थिए ।
त्यस्तै, क्षेत्र नम्बर २, ३ र ४ का प्रदेश सभा सदस्यमा बाम गठबन्धनका उम्मेदवारहरू नै अगाडि रहेका छन् ।
आइतबार राति १० बजेसम्मको मतगणना परिणामअनुसार कैलालीको क्षेत्र नम्बर १ मा राजपाका उम्मेदवार रेशमले १७ हजार ७९१ मत प्राप्त गरेका छन् । त्यस्तै, बाम गठबन्धनका उम्मेदवार मदनकुमारी (गरिमा) शाहले दुई हजार ८१९ मत प्राप्त गरेकी छन् ।
क्षेत्र नम्बर २ मा बाम गठबन्धनका उम्मेदवार झपटबहादुर रावलले छ हजार ५५५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार मोहनसिंह राठौरले चार हजार २४६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार