राणालाई हराउँदै राना विजयी



धनगढी । कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका लागि बाम गठबन्धनका उम्मेदवार नारदमुनी राना विजयी भएका छन् । रानाले ४ हजार ८ सय ८० मतको अन्तरले काँग्रेस उम्मेदवार आरजु राणा देउवालाई पराजित गरेका छन् । विजयी रानाले २७ हजार २ सय २ मत प्राप्त गरे भने लोकतान्त्रिक गठबन्धनकी राणाले २२ हजार ३ सय २२ मत प्राप्त गरिन् ।
विजयपछि कैलालीका प्रमुख निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले एमाले उम्मेदवार रानालाई निर्वाचित भएको प्रमाणपत्र दिए । विजयपछि रानाले आफूले मतदातामाझ राखेका वाचा पूरा गर्ने र प्रदेशको राजधानी धनगढी अत्तरिया बनाउन पहल थाल्ने बताए । बाम गठबन्धनको धनगढीमा विजय जुलुश निकालेको छ ।
क्षेत्र नं. ५ बाट राजपाका लक्ष्मण चौधरीले ६ हजार ७ सय ४७ मत प्राप्त गरे । विवेकशील साझाका उम्मेदवार दिनेशराज भण्डारीले २ हजार ७ सय २२ मत प्राप्त गरे । जनमोर्चाका उम्मेदवारले २ सय ४५, संघीय समाजवादी फोरमले २ सय ३, नेमकिपाले ६३, गणतान्त्रिक मोर्चाले ६०, राष्ट्रिय जनमुक्ति पार्टीले ५० मत प्राप्त गरेको छ ।

कैलाली ५ बाट विजयी नारदमुनी राना समर्थकलाई धन्यवाद दिँदै । तस्बिर : प्रकाशविक्रम शाह

२३ वर्षपछि एमालेलाई सफलता
नेकपा (एमाले)ले क्षेत्र नम्बर ५ मा २३ वर्षपछि संसदीय चुनाव जितेको छ । २०५१ सालको मध्यावधी निर्वाचनमा एमाले उम्मेदवार महेश्वर पाठक विजयी भएका थिए । त्यसपछि २०५६ मा काँग्रेस नेता स्वर्गीय टेकबहादुर चोख्याल, २०६४ मा माओवादीबाट लीला भण्डारी, २०७० मा शेरबहादुर देउवा र उपनिर्वाचनमा पुष्करनाथ ओझा विजयी भएका थिए । २०५४ मा धनगढी नगरपालिका, फूलवारी गाविस जिते पनि २०७४ को स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकामा काँग्रेस नै विजयी भएको थियो । नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य नारदमुनी राना २०५४ सालको स्थानीय निर्वाचनमा धनगढी नगरपालिकाको उपप्रमुख पदमा विजयी भएका थिए भने २०७० को संविधान सभा चुनावमा समानुपातिक तर्फबाट सभासद भएका थिए ।

राणाको भड्कीलो चुनावी शैली
धेरै अनुमानका बीच बाम गठबन्धनका नेता नारदमुनी राना विजयी भएका छन् । यसअघिका संसदीय चुनावमा पराजित हुँदै आएको र गत असारमा भएको स्थानीय तह निर्वाचनमा पनि पराजित भएको एमाले बाम गठबन्धनपछि हौसिए पनि स्थानीय तहमा राम्रो मत पाएका माओवादी केन्द्रका उम्मेदवार रामसमझ राना काँग्रेस प्रवेश भएपछि केही समय तनावमा थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा काँग्रेसमा प्रभाव राख्ने केन्द्रीय सदस्य आरजु राणा देउवालाई ‘हेभिवेट’ भन्दै लोकतान्त्रिक गठबन्धनले प्रचार थालेको थियो तर एमाले नेता राना पहिले नगरको उपप्रमुख, समानुपातिक सभासद भइसकेको र स्थानीय स्तरमा जनताको सेवामा भिजिसकेका कारण आफू नै ‘हेभिवेट’ उम्मेदवार भएको दावी गर्दै आएका थिए आज मतगणनाको अन्तिम नतिजा आउँदा रानाको दावी सत्य भएको छ ।
काँग्रेस उम्मेदवार देशकै लागि चाहिने र धनगढीको लागि अमूल्य भनि प्रचार गरिएपनि धनगढीका मतदातासँग खाशै घुलमिल नहुँदा मताधार कमजोर भएको हो । अर्कोतिर प्रशस्त खर्च गर्न सक्ने क्षमता भएको उम्मेदवारका रूपमा चर्चित काँग्रेस नेतृ राणालाई मतदाता र विपक्षीले टुरिष्ट भनेपछि त्यही झोकमा करोडौं मूल्यको घर किनेको चर्चा पनि चलाए ।
स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकका स्वतन्त्र उम्मेदवार गोपाल हमाल र आरजु राणासँग सम्बन्ध साठगाठ छ भन्ने हल्ला र राणासँग हमालको घर कारोवार र उहाँसँग पारिवारिक सम्बन्ध भएको मिडियावाजे पनि मतदातालाई सशंकित बनाएको थियो । काठमाडौं र अमेरिकामा बसेकी राणालाई मिश्रित बसोबास भएको र कैलालीको ग्रामीण परिवेश पनि उम्मेदवार बन्न अनुकूल थिएन नै, देउवाको उत्तराधिकारीका रूपमा र स्थानीय नेताको चाकडीका कारण राणा आम मतदाताका बीच पनि जान सकिनन् ।
रानालाई सबैभन्दा बलियो गठबन्धनको साथ, राना समुदायको उल्लेख्य भोट, धनगढी नगरउपप्रमुखदेखि नै जनताको सेवामा काम गरेकाले यसपटक जनताको साथ पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्