१० श्रावण २०८१, बिहीबार

आसन्न आम निर्वाचन : मौन अवधि शुरु



धनगढी  । मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । दोस्रो चरण अन्तर्गत कैलालीसहित देशभरीका ४५ जिल्लामा हुने निर्वाचनका लागि यो आचारसंहिता लागू भएको छ । मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा पहाड र हिमालका ३२ जिल्लामा प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भइसकेको छ ।
मौन अवधि शुरु भएदेखि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दलका तथा स्वतन्त्र उम्मेदवारहरूले चुनावी प्रचारप्रसार गर्न पाउँदैनन् । यस्तै, नागरिक समाज, मतदाता तथा सञ्चार माध्यमहरूले पनि कुनै पनि दल वा उम्मेदवारका पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाउने क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिए ।
निर्वाचनको मौन अवधिमा समाचार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरिने समाचारजन्य सामग्रीबाट मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा निर्वाचन आचारसंहिता विपरीत हुने कुनै पनि प्रकारका सामग्री प्रकाशन तथा प्रशारण नगर्न निर्वाचन कार्यालयले आग्रह गरेको छ ।
कैलालीमा प्रतिनिधि सभा सदस्यका पाँच र प्रदेश सभा सदस्यका लागि दश क्षेत्रमा मतदान हुँदैन । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी एक सय १९ जना उम्मेदवार रहेका छन् । कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा यस पटक चार लाख ५७ हजार चार सय ९८ मतदाता रहेको जिल्ला निवाृचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयको तथ्यांकअनुसार क्षेत्र नम्बर १ मा ९० हजार ६ सय ७४ मतदाता रहेका छन् ।
त्यस्तै, क्षेत्र नम्बर २ मा ८९ हजार ८ सय ७१, क्षेत्र नम्बर ३ मा ९१ हजार ७ सय ३३, क्षेत्र नम्बर ४ मा ९३ हजार ३ सय ८४ र क्षेत्र नम्बर ५ मा ९१ हजार ८ सय ३८ मतदाता रहेको सो कार्यालयले जनाएको छ ।
निर्वाचनका लागि सोमबारदेखि सबै शैक्षिक संस्थाहरु २१ गतेसम्मका लागि बन्द गरिएका छन् ।

मौन अवधिमा के गर्न पाईदैन ?
– निर्वाचन आचारसंहिताको मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइदैन ।
– मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्छ ।
– सामाजिक सञ्जाल (एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यम) मार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्नु हुँदैन ।
– उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाईदैन ।
मतदाता परिचयपत्र वितरण आजबाट
यसैबीच, निर्वाचन कार्यालयले आज (मंगलबार) देखि हरेक मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने भएको छ ।
दोस्रो चरणको निर्वाचनका लागि थपिएका मतदाताको फोटो सहितको मतदाता परिचयपत्र वितरण गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

मंसिर १९ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार