१० श्रावण २०८१, बिहीबार

थारू अभिनेता किरण चौधरीसहित सयौं एमालेमा, मालेका उम्मेदवार र नयाँ सक्तिका केन्द्रीय नेताले गरे बाम गठबन्धनलाई सहयोग, निर्वाचित जनप्रतिनिधि पनि प्रवेश



टीकापुर । चुनाव आउन ३ दिन मात्र बाँकी रहदा कैलाली क्षेत्र नं. १ मा बाम गठबन्धन बलियो बन्दै गएको छ । मौन अवधी सकिन १२ घण्टा अगाडि एमाले पार्टी कार्यालयमा थारूभाषी चलचित्रका चर्चित नायक किरण चौधरीसहित करिब ५० थारू युवायुवतीहरू एमाले प्रवेश गरेका छन् ।
उनीहरूलाई एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार गरिमा शाहले टीका लगाई पार्टी प्रवेश गराइन् ।
करिब १२ थारू भाषा कथानक चलचित्रमा अभिनय गरिसकेका चौधरीले नेपाली लोक तथा आधुनिक गीतमा समेत अभिनय गरिसकेका छन् ।
‘जीवनमा राजनीति गर्ने धोको थियो आज एमालेबाट राजनीति गर्न उपयुक्त ठानें र एमालेमा प्रवेश गरेको छुँ’ चौधरीले भने ।
पार्टी प्रवेश गर्नेहरूमा प्राध्यापन पेशामा संलग्न राजेन्द्रकुमार चौधरी, टीकापुर ९ का समाजसेवी आशाराम चौधरी, स्थानीय बडघर राजाराम चौधरी लगायत रहेका छन् ।
यस्तै, १७ गते मात्रै प्रगतिशिल लोकतान्त्रिक गठबन्धन कैलाली १ प्रदेश २ का उम्मेदवार तिलक श्रेष्ठले बाम गठबन्धनलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी स्थगन गरेका छन् ।
‘राजनैतिक स्थिरताका लागि मैले मेरो उम्मेदवारी स्थिगित गर्दै बाम गठबन्धनलाई समर्थन गरेको छुँ’ नेकपा माले सम्बद्ध प्रगतिशिल लोकतान्त्रिक गठबन्धनका उम्मेदवार श्रेष्ठले बताए ।
यस्तै, नयाँ शक्ति पार्टीका केन्द्रीय सचिवालय सदस्य डा. जनकराज शाह र सो पार्टीमा आवद्ध टीकापुरका बुद्धिजीवी दामोदर पण्डितले कैलालीमा बाम गठबन्धनलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत रहेका डा. शाह र पण्डितले बिहीबार टीकापुरमा एक पत्रकार सम्मेलन मार्फत सो कुराको घोषणा गरेका हुन् ।
‘पार्टी बाम गठबन्धनबाट बाहिरीनु हुँदैन भन्ने पक्षमा हामीहरू पार्टीभित्र आफ्ना मतहरू राखिरहदा पनि लोकतान्त्रिक गठबन्धनका नाममा पुरातनवादी शक्तिहरूसँग साठगाठ गर्ने कुरा प्रति असहमति राख्दै पार्टी भित्रै रहेर संघर्ष गर्ने निष्कर्षमा पुगेका छौं’ पत्रकार सम्मेलनमा शाहले भने ।
पार्टी भित्रै रहेर यस्तो निर्णय गर्दा पार्टीले कारबाही गर्ला नी त भन्ने पत्रकारहरूको प्रश्नमा शाहले भने, ‘नयाँ शक्ति पार्टीलाई बाम गठबन्धनसँग मिलाउन हामीले पार्टी भित्रै गरेको विद्रोह हो, हामी आफ्नो अभियानमा दृढ रहन्छौं ।’
यस्तै मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट टीकापुर नपा वार्ड नं. ३ का निर्वाचित वडा सदस्य भागिदेवी कामी समेत एमालेमा प्रवेश गरे । ‘पार्टी काँग्रेससँग एकीकरण भएपछि मैले चित्त नबुझेर एमालेमा प्रवेश गरेकी छुँ ।’ वार्ड सदस्य कामीले भने ।
निर्वाचन कै केहीदिन अघी नयाँ शक्तिका नेता धुर्व खत्री समेत एमाले प्रवेश गरेका छन् । उनी टीकापुर उद्योग वाणिज्य संघको पूर्व महासचिव समेत हुन ।
यस्तै, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका टीकापुर नगर अध्यक्ष रामबहादुर सोडारी र नगर सचिव तपेन्द्र रावल समेत एमाले प्रवेश गरेका छन् । फोरम काँग्रेसमा एकीकरण गर्ने निर्णय प्रति असहमति राख्दै उनीहरू एमाले प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार