११ श्रावण २०८१, शुक्रबार

एउटै मञ्चमा उम्मेदवारहरू : भन्छन्– भ्रष्टाचारमा सून्य सहनशिलता



धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेदवारहरूले भ्रष्टाचारमुक्त मुलुक बनाउन आफूहरूले हरसम्भव प्रयास गर्ने बताएका छन् ।
भ्रष्टचारका कारण मुलुक आर्थिक समृद्धितर्फ उन्मुख हुन नसकेको तथा सुशासन कायम गर्न चुनौति रहेकाले भ्रष्टाचारका विरुद्ध आफूहरू सधैं सजग हुने उम्मेदवारहरूले प्रतिवद्धता व्यक्त गरे ।
धनगढी जेसिजले शुक्रबार धनगढीमा आयोजना गरेको ‘जनतासंग उम्मेदवार’ कार्यक्रममा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूले आर्थिक समृद्धिका लागि भ्रष्टाचारको अन्त्य अनिवार्य भएको दोहोर्‍याए ।
कार्यक्रममा नेपाली काँग्रेस नेतृ तथा प्रतिनिधि सभा सदस्य डाक्टर आरजु राणा देउवाले नेपाली काँग्रेसले नै भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अधिकारसम्पन्न बनाएको स्मरण गराइन् ।
‘म स्वयं पनि विभिन्न संघसंस्थामार्फत सामाजिक सेवाको काममा क्रियाशील रहँदा सधैं पारदर्शीता तथा सुशासनलाई प्राथमिकतामा राखेर काम गरे’ उनले भनिन्– ‘सरकारी कार्यालयमा हुने भ्रष्टाचार रोक्न जनता र सरकारी कार्यालयबीच अन्तरसंवाद प्रभावकारी हुने चर्चा गरिन् ।’
कार्यक्रममा बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार नारदमुनी रानाले राष्ट्रलाई समृद्धितर्फ अघि बढाउन तथा गरिबी र बेरोजगारी कम गर्न भ्रष्टाचारको पूर्ण अन्त्य जरुरी रहेको बताए ।
उनले आफू सधैं भ्रष्टाचारको विरुद्धमा रहेको र शासनमा हुने भ्रष्टाचार विरुद्ध सधैं प्रयासरत रहने बताए ।
विवेकशील साझा पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार दिनेशराज भण्डारीले भ्रष्टाचारको जालो निर्वाचनबाटै शुरु हुने गरेको बताए । ‘निर्वाचनलाई आफ्नो पक्षमा पार्न दल तथा उम्मेदवारहरूले धेरै खर्च गर्ने काम रोक्नु जरुरी छ’ उनले अहिले दलहरू निर्वाचन जित्न आफनो घर/घडेरीनै धितोमा राख्न समेत पछि नपरेको बताए । ‘चुनाव जितेपछि त्यो खर्च निकाल्न .राज्यको ढुकुटीको दुरुपयोग गर्ने पनि उनीहरू नै हुन्’ उनले आफ्नो पार्टी भ्रष्टाचार राक्न कडा ढंगबाट प्रस्तुत हुने बताए ।
कार्यक्रममा विभिन्न दलका उम्मेदवारहरूले आफू जितेमा क्षेत्रको आर्थिक विकासका लागि प्रतिवद्ध भएको बताए ।
उम्मेदवारहरूले धनगढीलाई समृद्ध महानगर बनाउने, धनगढी विमानस्थलको स्तरोन्नती, गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउनेलगायतका प्रतिवद्धता व्यक्त गरेका थिए ।

मंसिर १६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार