६ कार्तिक २०८१, मंगलवार

दुई दिनपछि मतपेटिका पुर्‍याइयो



बझाङ । बझाङको विकट हिमाली गाउँपालिका काँडामा रहेका तीन वटा मतपेटिका मंगलबार बिहान हेलिकोप्टरबाट सदरमुकाम चैनपुर ल्याइएको छ ।
सोमबार बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिहरूले हेलिकोप्टरमा मतपेटिकासँगै आफूहरूले पनि जान पाउनुपर्ने भनेपछि विवाद भएको थियो ।
विवाद साम्य भएपछि मंगलबार बिहान हेलिकोप्टरबाट तीन वटै मतपेटिका सुरक्षित तरिकाले सदरमुकाम चैनपुर ल्याइएको प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले बताए । मतपेटिकासँग मतदान अधिकृत मात्र आएका र अन्य कर्मचारी र राजनीतिक दलका प्रतिनिधि हिँडेर नै सदरमुकाम चैनपुर आउने प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । काँडाबाट सदरमुकाम चैनपुर पुग्न तीन दिन लाग्छ ।
बझाङ जिल्लाका एक सय ६० मतदान केन्द्रका चार सय ८० मतपेटिका जिल्ला पशुसेवा कार्यालयको हलमा राखिएका छन् ।
मतपेटिका भएको ठाउँहरूमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । मतपेटिका भएको ठाउँमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा म्यादी प्रहरीले सुरक्षा दिने प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

मतदान अधिकृत गिरी सम्पर्कमा
बाजुरा । बाजुराको उत्तरी भेगमा पर्ने पाण्डवगुफा गाउँपालिका वडा नम्बर ४ स्थित मालिका माध्यामिक विद्यालय, बाङपानीमा खटिएका मतदान अधिकृत प्रेमराज गिरी मंगलबार सम्पर्कमा आएका छन् ।
सोमबार मतपेटिकासँगै पोरखे काँधसम्म आएका अधिकृत गिरी एक्कासी सम्पर्कविहीन भएका थिए । मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने ठाउँमा उपस्थित नभएपछि उनको खोजी गरिएको प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।
अधिकृत गिरी केहीबेर अघि सम्पर्कमा आई मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको वलीले जानकारी दिए । मतदान अधिकृत गिरी जैतुन कार्यालय कोल्टीका कर्मचारी हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार