६ कार्तिक २०८१, मंगलवार

धनगढी स्मार्ट सिटी योजना : जापानको एक संस्थाले सहयोग गर्दै



धनगढी । केही वर्षदेखि चर्चामा रहेको पछिल्ला चुनावमा एक प्रमुख चुनावी मुद्दा बनाइएको धनगढी स्मार्ट सिटी आयोजनाले मूर्तरूप लिने भएको छ । धनगढी उपमहानगरपालिका र दुई नगरपालिकालाई स्मार्ट सीटी बनाउन जापानको एक संस्थाले सहयोग गर्ने भएको छ ।
जापानको न्यू आइटी भेन्चर कर्पोरेसन लिमिटेड (एनआइटीभी) ले धनगढीसहित कास्कीको लेखनाथ पोखरा महानगरपालिका र दाङको तुल्सीपुर उपमहानगरपालिकालाई स्मार्ट सीटी बनाउन छनौट गरेको जनाइएको छ ।
सोमबार धनगढीमा आयोजित एक कार्यक्रममा धनगढी स्मार्ट सिटी बनाउनेबारे धनगढी उपमहानगरपालिका र एनआइटीभीबीच सम्झौता भयो ।
सम्झौतापत्रमा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड र एनआइटीभीका बोर्ड अफ डाइरेक्टर तादा सी मोरीले हस्ताक्षर गरे । सम्झौतापत्रमा दुई वर्षभित्र गुरुयोजनाका साथै पूर्वाधार निर्माणको काम अगाडि बढाउने उल्लेख छ ।
कार्यक्रममा बोर्ड अफ डाईरेक्टर मोरीले स्मार्टसिटी अन्तर्गत धनगढीको भौतिक संरचना निर्माण, सञ्चार र बजार अत्याधुनिक बनाइने बताए । उनले धनगढीलाई पूर्ण व्यवस्थित शहरको रूपमा विकास गराउने स्मार्ट सीटीको परिकल्पना रहेको बताए ।
नगर प्रमुख वडले धनगढीलाई लामो समयदेखि स्मार्ट सीटी बनाउने चर्चा चले पनि बल्ल आएर स्मार्ट सीटीको प्रक्रियाले सार्थकता पाएको बताए । उनले धनगढीलाई स्मार्टसीटी बनाउन लगानीकर्ता, नागरिक समाज, कर्मचारी, शिक्षक, विद्यार्थी लगायत सम्पूर्ण धनगढीवासीको सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा स्मार्ट सीटीबारे प्रस्तुतिकरण गर्दै एनआइटीभीका प्रमुख कार्यकारी कमल अधिकारीले धनगढी शहरका हरेक कुनामा सीसी क्यामेरा जडान गरिने, डाटा सेन्टर, अपराधीको पहिचान गर्ने ‘फेस आइडेन्टिफिकेसन सिस्टम’ टेली उपचार, सडकमा विशेषखाले बत्ती, हरेक घरमा पानी र बिजुलीको खपत कति भइरहेको छ भन्ने कार्यालयबाटै हेर्न सकिने, फोहोर व्यवस्थापन लगायतका काम गरिने बताए ।
उनले निजी सार्वजनिक साझेदारी मोडेलका आधारमा तथा उपमहानगरपालिकाको साझेदारी र अपुग रकम आफै खोजेर स्मार्ट सीटी बनाइने बताए ।

मंसिर १२ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार