१० श्रावण २०८१, बिहीबार

बाजुरामा काँग्रेस कार्यकर्तामाथि आक्रमण



धनगढी । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर ८ गोठी (साविक पाण्डूसेन गाविस) मा मतदानका क्रममा आइतबार काँग्रेस कार्यकर्तामाथि आक्रमण भएको छ ।
मध्यान्ह करिब १२ बजेतिर गोठी मतदान केन्द्रमा एमाले कार्यकर्ताबाट भएको आक्रमणबाट काँग्रेस कार्यकर्ताहरू दानबहादुर धामी र फकिर धामी घाइते भएका छन् । उनीहरूमाथि ढुंगामुढा तथा खुकुरी प्रहार गरिएको जनाइएको छ ।
आक्रमणबाट घाइते दुवैलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि धनगढी पुर्‍याइएको छ । घाइते दानबहादुरको बाँया कान र टाउकोमा गम्भीर चोट लागेको छ । भने फकिरसिंहको टाउकोको पछाडी चोट लागेको छ ।
घाइते फकिरसिंहका अनुसार मतदान गरेर फर्किने क्रममा एक्कासी पछाडीबाट आक्रमण भएको थियो ।
आक्रमणपछि मतदान स्थलमा केही बेर तनाव भएको थियो । प्रहरीले स्थिति नियन्त्रणका लागि केही राउण्ड हवाई फायर गरेको थियो ।
त्यस्तै, बझाङको मष्टा गाउँपालिका वडा नम्बर ३ को मालिका निम्न माध्यमिक विद्यालय मतदान केन्द्रमा ढुंगा प्रहारबाट काँग्रेस कार्यकर्ता रामबहादुर धामी घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार एमालेबाट वडा नम्बर ३ का निर्वाचित वडाध्यक्ष टेकबहादुर कठायतले धामीमाथि ढुंगा प्रहार भएको थियो ।
ढुंगा प्रहारबाट घाइते धामीको टाउकोमा सात टाँका लगाइएको छ । आक्रमणपछि मतदान स्थलमा केही बेर तनाव भएको थियो ।
उता बैतडीको पुर्चौडी नगरपालिकाको भूमिराजमा एमाले र माओवादी कार्यकर्ताबीच नै झडप भएको बताइएको छ ।
त्यस्तै, बझाङको थलारा गाउँपालिका वडा नम्बर ८ मा रहेको शैलेश्वरी निम्न माध्यमिक विद्यालय मतदान केन्द्रमा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार