२ आश्विन २०८१, बुधबार

पहिलो चरणको निर्वाचन सम्पन्न : प्रदेश नम्बर ७ का चार जिल्लामा ६५ प्रतिशत मत खस्यो



धनगढी । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पहिलो चरणको निर्वाचन आइतबार सम्पन्न भएको छ । पहिलो चरणको निर्वाचनमा प्रदेश नम्बर ७ का चार जिल्ला मतदान भएको छ । ७ नम्बर प्रदेशको बैतडी, बझाङ, बाजुरा र दार्चुलामा गरी ६५ प्रतिशत मत खसेको क्षेत्रीय प्रशासन कार्यालयले जनाएको छ ।
७ नम्बर प्रदेशका चार जिल्लामा तीन लाख ८४ हजार नौ सय ३५ मतदाता रहेकोमा ६५ प्रतिशत मत खसेको जनाइएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार बाजुरामा ७६ दशमलव २० प्रतिशत मत खसेको छ । बाजुरामा ६९ हजार आठ सय ३४ मतदाता रहेकोमा ५३ हजार दुई सय १३ मत खसेको छ ।
त्यस्तै, दार्चुलामा ६९ प्रतिशत मत खसेको जनाइएको छ । दार्चुलामा ७८ हजार पाँच सय १२ मतदाता रहेकोमा ५४ हजार चार सय १४ मतदान भएको थियो ।
बैतडीमा ५८ प्रतिशत मत खसेको छ । बैतडीमा एक लाख ३२ हजार तीन सय १७ मतदाता रहेकोमा ७६ हजार तीन सय ४३ मतदान भएको छ ।
त्यस्तै, बझाङमा एक लाख चार हजार दुई सय ७५ मतदाता रहेकोमा ६० प्रतिशत बढी मत खसेको जनाइएको छ ।
बैतडीबाट पत्रकार लक्ष्मीराज पाण्डेयले जनाएअनुसार पाटन नगरपालिकामा ६० प्रतिशत र दशरथचन्द नगरपालिकामा ५६ प्रतिशत मत खसेको छ ।
त्यस्तै, मेलौली नगरपालिकामा ६२ र पुर्चौडी नगरपालिकामा ५७ प्रतिशत मत खसेको पत्रकार पाण्डेयले बताए ।
त्यस्तै, शिवनाथ गाउँपालिकामा ५६, पञ्चेश्वर गाउँपालिकामा ५५, सिगासमा ५६, दोगडाकेदारमा ५८, डिलासैनीमा ५६ र सुर्नया गाउँपालिकामा ५९ प्रतिशत मत खसेको छ ।
क्षेत्रीय प्रशासन कार्यालयले मतदान सकिए लगत्तै मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने काम भएको छ । संकलित मतपेटिका मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रणमा र व्यवस्थापनमा रहने प्रशासनले जनाएको छ ।
मतपेटिकालाई मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय, राजनीतिक दल तथा उम्मेदवारको सहमतिमा सुरक्षित स्थानमा राख्ने प्रबन्ध मिलाइएको क्षेत्रिय प्रशासन कार्यालयले जनाएको छ ।
मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलगत्तै सबै जिल्लामा मतगणना सुरु हुनेछ ।
मतदानका दिन आइतबार ७ नम्बर प्रदेशका चार जिल्लाका केही स्थानमा बम भेटिएका थिए । भेटिएकामध्ये अधिकांश बम नक्कली भएको र त्रास फैलाउन मात्रै बमको हल्ला फैलाइएको क्षेत्रीय प्रशासन कार्यालयले जनाएको छ ।
दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा नजिक सडक छेउमा कागजभित्र गोलो आकारको बम जस्तो देखिने शंकास्पद बस्तु फेला परेको थियो ।
बझाङका ४ वटा मतदान केन्द्रमा बम विस्फोट भएको थियो । छविस पाथीभेरा गाउँपालिका वडा नम्बर ४ मा रहेको जनता आधारभूत विद्यालय बागमाडु मतदान केन्द्रभन्दा चार सय मिटर पर बम विष्फोटन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै, छविस पाथीभेराको वडा नम्बर ५ थलारा निम्न माध्यामिक विद्यालयको ब्यासीे मतदान केन्द्र भन्दा एक किलो मिटर टाढा जंगलमा पनि बम विष्फोट भएको थियो ।
त्यस्तै, सदरमुकाम चैनपुर बजार नजिकै रहेको संग्रामसार्दुल गुल्म भन्दा करीब एक सय मिटर पर रहेको सत्यवादी उच्च माध्यामिक विद्यालय मतदान केन्द्र नजिकैको सडकमा टाईम बम फेला परेको छ । सो बम प्रहरी र नेपाली सेनाको टोलीले निष्कृय गराएको थियो । बम राखेको नजिकै विप्लव समुहको पर्चा फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै, बुंगल नगरपालिका कन्या माध्यमिक विद्यालय, बटुलसेरामा रहेको मतदान केन्द्र नजिकै पनि बम विष्फोटन भएको थियो । रातो शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र प्रहरी तथा नेपाली सेनाको टोली सो ठाउँमा पुग्नु अगावै बम विष्फोटन भएको स्थानीय बासिन्दाले बताए । बझाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले विभिन्न ठाउँमा भएका बम बिस्फोटबाट कुनै मानवीय क्षती भने भएको छैन ।
त्यस्तै, खप्तडछान्ना गाउपालिका कालुखेतीको खापरदेव मतदान केन्द्र भन्दा १० मिटर टाढा बालुवाको पोका राखिएको थियो ।

एक सय १२ वर्षीया बुद्धाद्वारा मतदान
बाजुरा । आइतबार भएको मतदानका क्रममा बाजुरामा एक सय १२ वर्षीया बुद्धाले मत दिएकी छिन् ।
हिमाली गाउँपालिकाको वडा नम्बर ३ को गंगा आधारभूत विद्यालय बौडी मतदान केन्द्रमा एक सय १२ वर्षीया सिद्धकला रोकायाले मत दिएको जिल्ला निर्वाचन अधिकारी शुभद्रा शर्मा गौतमले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार