रानाथारू समुदायको अधिकार सुनिश्चित गर्छु: राना



धनगढी । नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा कैलाली क्षेत्र नं. ५ प्रतिनिधि सभा बाम गठबन्धनका उम्मेदवार नारमुनी रानाले रानाथारू समुदायको हक र अधिकार सुनिश्चितताका लागि आफू निरन्तर लड्ने बताएका छन् ।
आइतबार धनगढी उपमहानगरपालिका १२ जुगेडामा भएको चुनावी सभालाई सम्बोधन गर्दै कैलाली कञ्चनपुरमा बसोबास गर्ने राना समुदाय उपेंक्षित बन्दै आएकाले उनीहरूको अधिकार सुनिश्चिताका लागि आफू लागिपर्ने बताए ।
कैलाली कञ्चनपुरमा राना समुदायको उल्लेख्य रूपमा बसोबास रहेको छ रानाले भने त्यो समुदाय सधैं उपेक्षित रहँदै आएको छ उनीहरूको अधिकार सुनिश्चित गर्न म अघि बढेको हुँ । राना समुदायलाई सधैं भोट बैंकको रुपमा हेर्नेहरूले उनीहरूका अधिकारका बारेमा बोल्ने काम गर्न पनि गरेनन अब मलाई भोट दिएर विजयी गराउनु होस् तपाईका अधिकार मैले सुनिश्चित गर्छु रानाले आफ्नै भाषामा भने ।
रानाथारूको आफ्नो छुट्टै कला, संस्कृति र भेषभूषा रहेको बताउँदै रानाले भने त्यसको संरक्षण र सम्बद्र्धन गर्न रानाथारू एकजुट भएर अघि बढ्न जरुरी रहेको छ । नेपालको संविधानमा रानाथारू समुदायलाई सुचीकृत गरिएको छैन् ती अधिकार सुचीकृत गर्नका लागि राना समुदायको प्रतिनिधिले मात्रै बुझेकोले आफूलाई प्रतिनिधिसभा निर्वाचनमा मत दिएर विजयी गराउन उनले आग्रह गरे ।
आफू स्थानीय भएकोले यहाँका समस्याहरूका बारेमा बढी जानकार रहेको बताउँदै उनले आफूले जिते मात्रै यस क्षेत्रको विकास हुने दावी गरे । उनले आफू लडेको निर्वाचन क्षेत्रमा सधै काँग्रेसले जित्दै आएको तर यस क्षेत्रको विकासका लागि सिन्को पनि भाँच्न नसकेको आरोप लगाए । यसपालिको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवार विजयी गराएर देखाउनुस् विकास कस्तो हुन्छ हामी देखाईदिन्छौं, उनले भने ।
प्रदेशसभा १ का उम्मेदवार नेपालु चौधरीले लामो समयदेखि आफूहरू जनताको सेवा गर्दै आएकोले जीत सुनिश्चित भएको बताए ।
कार्यक्रममा नेकपा एमालेको केन्द्रीय सदस्य महेश्वर पाठक प्रमुख अतिथि रहेका थिए । उनले नेपाली काँग्रेसलाई ठग पार्टीको संज्ञा दिँदै भने काठमाडौंबाट आरजुलाई डोलीमा ल्याएर उम्मेदवार बनाएको छ यसले यहाँ संघर्ष गर्दै आएका काँग्रेस नेताको अपमान भएको छ ।
यसैगरी, बाम गठबन्धनले आइतबार बिहान धनगढी उपमहानगरपालिका ९ मा घरदैलो कार्यक्रम गरेको छ । उक्त घरदैलो कार्यक्रममा प्रतिनिधिसभा ५ का उम्मेदवार नारदमुनी राना, प्रदेश १ का उम्मेदवार नेपालु चौधरी लगायत, नेकपा एमाले सचिव रणबहादुर चन्द, सचिवालय सदस्य यज्ञराज बास्तोला, जिल्ला सदस्य सीताराम बुढाथोकीको सहभागीता रहेको थियो ।
त्यसै गरी वडा नं. १३, ३, र २ मा पनि बाम गठबन्धनले चुनावी सभा तथा प्रचारप्रसार र घरदैलो अभियान सम्पन्न गरेको जनाइएको छ । चुनावी सभामा २ सय कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी बाम गठबन्धनमा प्रवेश गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्