१२ श्रावण २०८१, शनिबार

अब चुनाव कसैले राेक्न सक्दैनः अध्यक्ष अाेली



धनगढी । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनीधिसभा र प्रदेशसभाको चुनाव रोक्ने अनेकौ प्रयत्न भएको चर्चा गर्दे ती प्रयत्न पानीका फोका जस्तै भएकोले अब कसैले पनि निर्वाचन रोक्न नसक्ने बताएका छन् ।
धनगढीमा आज बाम गठबन्धनद्वारा आयोजना भएको संयुक्त चुनावीसभामा अध्यक्ष ओलीले हामीलाई जोतिषीले होइन जनताले प्रधानमन्त्री बनाउने भएकोले गठबन्धनका उम्मेदवारलाई मत माग्न जिल्लाजिल्ला पुग्ने गरेको बताए । यति पटक उतिपटक प्रधानमन्त्री भए सातौं पटकसम्म हुन्छु भन्नेलाई काम के गरे सोध्नु होला उनले आमसभाका दर्शकलाई संकेत गर्दे भने ।
बामपन्थी एकता चुनावको लागि मात्र भन्ने चर्चाबारे नेता ओलीले प्रष्ट धारणा राखेका छन् । उनले प्राविधिक कारण पार्टी एकता हुन नसकेको धारणा राख्दै चुनावपछि एमाले र माओवादी एकता कसैले रोक्न नसक्ने ठोकुवा गरे ।
धर्तीपुत्र, स्थानीय नेता सहितका अनेक उपमाले कैलाली ५ का बाम उम्मेदवार नारदमुनी रानालाई जिताउन पटकपटक आग्रह गरेका अध्यक्ष ओलीले प्रधानमन्त्री पत्नी डा. आरजु राणा लक्षित गर्दे भने, चुनावका बेला आएर घर किन्दा कसैले पनि स्थानीय भनेर नपत्याउने बताए । राणा शासन सकियो भनेको त कैलालीमा पो देख्न थालियो ! उनले भने, माथि श्रीमान तल श्रीमती चुनावमा छन् सानै भएकोले छोरा लडेनन् नत्र नजिकै कतै उनी पनि लड्थे होलान ।

चुनावमा धाँदली गर्ने सोचले प्रहरी अधिकारीहरूको सरुवा वढुवा गरिएको भए पनि सुरक्षा अधिकारी र कर्मचारीहरू जिम्मेवार भएकोले त्यस्तो धाँदली नहुने उनले बताए । फरक प्रसंगमा ह्याकुलाले च्पापेर बामपन्थीलाई ठिक पार्छु भन्नेलाई संकेत गर्दै उनले भने, आच्छु खाए बाच्छु खाए झुसे बारुलो । हामीले राणा, पञ्चायत जस्ता थुप्रै ह्याकुला देखेका छौं, उनले थप टिप्पणी गर्दै भने ।
हामीले कुनै पनि खालका चुनावी अवरोध गर्दैनौ तर सरकार र कुनै पार्टीले गर्न खोजे त्यो रोक्छौं, उनले भने, त्यसका लागि एमाले र माओवादीका कार्यकर्ता तयार छन् । अध्यक्ष ओलीले बामपन्थी सरकार बनेपछि देश बनाउने योजना पनि सुनाएका थिए ।
एमाले अध्यक्ष ओलीले अब थारू पहाडीबीच लडाइ गराएर फाइदा लिने षड्यन्त्रको अन्त्यको भइसकेको चर्चा पनि गरे । उनले निर्वाचन आचारसंहिताको पालना गर्न पनि कार्यकर्ताहरूलाई आग्रह गरे । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सन्देश सुनाए भन्दै माओवादी नेता रामबहादुर थापाले मुलुकमा राजनीतिक स्थायित्व सुशासन, आर्थिक समृद्धिका लागि बामपन्थीको दुई तिहाइको सरकार बन्नु आवश्यक रहेको बताए । उनले पनि चुनावपछि एमाले र माओवादीवीच पार्टी एकता हुने विश्वास व्यक्त गरे ।
एमालेका केन्दीय उपाध्यक्ष भीमबहादुर रावलले बामपन्थी सरकार बनेपछि अन्तर्राष्ट्रिय बिमानस्थल, सुख्खा बन्दरगाह औद्योगिक क्षेत्र, क्षेत्रीय अस्पताल, सुप विश्वविद्यालय, सेती लोकमार्ग, मेडिकल कलेज लगायतका बन्ने योजना भएका र बन्न थालेका पूर्वाधारले पूर्णता पाउने दावी गरे । उनले कांग्रेसले २०१५, २०४८, २०५६ सालका बहुमत हुँदा पनि सरकार चलाउन नसकेको चर्चा गर्दै देशको मुहार फेर्न राष्ट्रियताको संरक्षण गर्न बामपन्थीलाई एकपटक दुईतिहाई बहुमत दिनुपर्ने बताए ।
चाँदीको किस्तीमा लगेर प्रजातन्त्र बुझाउनेले लोकतन्त्र कुरा गरेकोमा आश्चर्य प्रकट गर्दे नेता रावलले चुनाव जित्न गृहमन्त्रलयको बजेट बाडिएको बताउँदै बामपन्थी सरकार बने त्यो छानबिन हुने बताए । उनले राज्यको सम्पति बुढानिलकण्ठको सम्पत्ति भए जस्तै गरेर बाड्न नमिल्ने बताए ।
देउवा र उनकी पत्नीले चुनाव हार्ने संकेत गर्दै नेता रावलले चुनावपछि डडेल्धुरा वा धनगढीमा श्रीमतीको घर जहाँ रुन चाहनुहुन्छ सुरक्षा गार्ड राखेर देउवालाई बामपन्थी सरकारले रुन दिने व्यवस्था गरिदिने बताए । देउवा पत्नि डा. आरजूलाई लक्षित गर्दे उहाँले हेलिकोप्टर स्टाइलले आउने उम्मेदवारलाई हराउन आग्रह गरे ।
माओवादी नेता लेखराज भट्टले अन्तर्राष्ट्रिय बिमानस्थल, सुख्खा बन्दरगाह औद्योगिक क्षेत्र, क्षेत्रीय अस्पताल, सुप विश्वविद्यालय, सेती लोकमार्ग, मेडिकल कलेज बनाउने सोच आफूहरूको भएको चर्चा गरे ।
क्षेत्र नम्बर ५ मूल निर्वाचन परिचालन समितिका संयोजक लक्ष्मण कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला अध्यक्ष दीर्घ सोडारी, प्रतिनिधिसभाका उम्मेदवार नारदमुनी राना, प्रदेशसभाका उम्मेदवारहरू नेपालु चौधरी र रमेश धामी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
बाम गठन्धनले आजै कैलालीको क्षेत्र नम्बर २ को लम्कीमा पनि संयुक्त सभा गरेको छ । सो सभालाई पनि नेता ओली, माओवादी नेता थापा, एमाले उपाध्यक्ष रावल लगायतले सम्बोधन गरेका छन् । सात नम्बर प्रदेशका नौमध्ये बाजुरा, बझाङ, दार्चुला र बैतडीमा मंसिर १० गते र कैलाली, कञ्चनपुर, अछाम, डोटी र डडेल्धुरामा जिल्लामा मंसिर २१ गते चुनाव हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार