‘समस्या सुन्दै, विकास योजना बनाउँदै’



धनगढी । ‘मैले आम जनतासंगको प्रत्यक्ष भेटघाटका क्रममा यहाँका मुलभूत मुद्दा तथा विकासका चुनौति र अवसरबारे पहिचान गरिरहेकी छु र त्यसकै आधारमा विकासका खाका कोरिरहेकी छु’ व्यस्त चुनावी प्रचारप्रसारका क्रममा बिहीबार काँग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा कैलाली क्षेत्र नम्बर ५ का विकासका चुनौति र अवसरबारे विस्तारमा चर्चा गरिन् ।
कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डाक्टर देउवाले सञ्चारकर्मीहरू माझ क्षेत्र नम्बर ५ का आर्थिक, भौतिक, सामाजिक, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रको विकासका विद्यमान चुनौति र समस्या तथा आफ्ना विकास योजना प्रस्तुत गरिन् ।
‘यो क्षेत्रमा ऐलानीपर्ती जमिन र भूमिहिन सुकुम्बासीहरूको समस्या विकराल रहेको छ’ उनले भनिन्– ‘भूमिहीनहरूले ऐलानीपर्ती जमिनमा बसोबास गर्नु गल्ती होइन, सरकारले उहाँहरूलाई उचित ढंगले व्यवस्थापन गर्न नसक्नु कमजोरी हो ।’ उनले आगामी दिनमा व्यवस्थित बसोबासलाई प्राथमिकताका साथ अगाडि बढाइने बताइन् ।
कैलालीमा अधिकांस गाउँवस्ती बाढी र डुबानबाट प्रभावित हुने गरेकोप्रति चर्चा गर्दै नेतृ डाक्टर देउवाले नदी तटबन्धबाट मात्रै यो समस्या समाधान हुननसक्ने बताइन् । ‘हाम्रा नदीखोलाले समयसमयमा धार परिवर्तन गर्ने हुँदा तटबन्धले मात्रै समस्या समाधान हुँदैन’ उनले बृहत हरियाली योजनाका साथै, जैविक तटबन्ध तथा नदी नियन्त्रणका लागि अरु मुलुकले अवलम्बन गरेका प्रभावकारी प्रविधि पनि कार्यान्वयन गर्नुपर्ने बताइन् ।
उनले धनगढी उपमहानगरपालिकासहित क्षेत्र नम्बर ५ मा सडक निर्माण, खानेपानी, विद्युत सेवा विस्तार सहितका पूर्वाधार निर्माणले गति लिएको चर्चा गरिन् । ‘तर अझैं व्यवस्थित शहरीकरण र योजनावद्ध ढंगले विकास गर्नुपर्दछ’ उनले भनिन् ।
नेतृ डाक्टर देउवाले कैलालीमा डंगौरा थारू, राना थारू तथा पहाडी समुदाय सहित सबैको बसोबास रहेको र सामाजिक एकता र सौहार्दता प्रवद्र्धन प्रमुख सवाल रहेको बताइन् । ‘विभिन्न जातजातिबीच एकता र सामाजिक सद्भाव कसरी अक्षुण्ण बनाइराख्ने भन्ने सबैभन्दा संवेदनशील सवाल हो’ उनले कतिपय सन्दर्भमा ‘कम्युनिकेशन ग्याप’का कारण पनि विभिन्न जातजातिबीच तनाव हुने गरेको बताइन् ।
बढी समय आर्थिक, सामाजिक, भौतिक, शैक्षिक, स्वास्थ्य क्षेत्रका समस्या र विकास योजनाबारे चर्चा गरेकी नेतृ देउवाले थोरै समय राजनीतिक मुद्दामा प्रवेश गरिन् । ‘तपाईंहरू सबैले बुझ्नु जरुरी छ कि यो निर्वाचन लोकतन्त्र र कम्युनिष्ट बीचको लडायी हो’ उनले भनिन्– ‘लोकतन्त्र, नागरिक अधिकार, स्वतन्त्र प्रेस, सम्पत्तिमाथिको व्यक्तिको अधिकार, संगठित हुन पाउने अधिकार जस्ता लोकतान्त्रिक अधिकारको रक्षाका लागि लोकतन्त्रवादी शक्तिको जीत आवश्यक छ ।’
पत्रकार सम्मेलनमा काँग्रेसका कैलाली जिल्ला सभापति नरनारायण शाह, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल, प्रदेश सभा सदस्य उम्मेदवारद्वय डिल्लीराज पन्त र जीवन राना, नेतृ दिव्यश्वरी शाह लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
प्रेस युनियन कैलालीद्वारा आयोजित कार्यक्रमको सञ्चालन जिल्ला अध्यक्ष टेकराज जोशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्