१० श्रावण २०८१, बिहीबार

पत्रकार जैशीमाथि आक्रमण घटना : पुरै परिवार आतंकित



नेपालगन्ज । गत शनिबार राति हतियारधारी समूहको आक्रमणमा घाइते भएका कैलालीका पत्रकार लक्ष्मीप्रसाद जैशीको पुरै परिवार आतंकित छ । आक्रमणकारी सबै जनालाई प्रहरीले पक्राउ गरेमात्र आफ्नो र परिवारले राहत महसुस गर्ने उनले बताए ।

नेपालगञ्ज मेडिकल कलेजमा उपचार गराइरहेका पत्रकार जैशी ।

नेपालगञ्ज मेडिकल कलेजमा उपचार गरिरहेका पत्रकार जैशीले मंगलबार धनगढीबाट गएका पत्रकार र मानवअधिकारकर्मीहरूलाई घटनामा संलग्न दोषीहरूलाई छिटो पक्राउ गर्न प्रहरी प्रशासनमाथि दवाव सिर्जना गरिदिन आग्रह गरे ।
घरमा सुतिरहेको अवस्थामा शनिबार राति चारपाँच जना हतियारधारी समूहबाट सांघातिक आक्रमणमा परेका जैशीको निधारमा गहिरो चोट लागेको छ । उनको उपचारमा संलग्न चिकित्सकले उनको टाउकोमा रगत जमेका कारण निको हुन धेरै समय लाग्ने बताए । उनको कम्मरमा पनि चोट लागेको छ ।
घाइते पत्रकार जैशीका अनुसार उनलाई आक्रमणकारीले बलजफ्ती लग्न खोजेका थिए । उनकी श्रीमति, आमा, बहिनी र भाइले प्रतिकार गरेका कारण उनी अपहरण हुनबाट जोगिएका थिए । आक्रमणकारीहरूले उनका परिवारका अरु सदस्यमाथि पनि प्रहार गरेका थिए । आक्रमणबाट उनकी आमाको चार दात भाचिएका छन् । श्रीमतिको हातमा चोट लागेको छ भने बहिनी पनि सामान्य घाइते भएकी छिन् ।
‘हामीले सम्पति लैजाउ, तर कुटपीट नगर भन्दा पनि मानेनन्’ उनकी श्रीमति दुर्गाले भनिन्– ‘सायद उहाँ (लक्ष्मी) लाई अपहरण नै गर्न खोजेका थिए ।’ उनका अनुसार आक्रमणकारीहरूले उनलाई गेट बाहिर लगिसकेका थिए । ‘आमा सहित हामीले लैजान दिएनौ, खुट्टा समाएर रोक्यौ’ उनले भनिन्– ‘आक्रमणकारीले पाँच लाख रुपैयाँ र नौ तोला सुन लुटेर लगे ।’
घटनाबाट निकै त्रसित रहेकी उनकी आमा नन्दाले पत्रकार तथा मानवअधिकारकर्मीहरूसंग आफ्नो छोरालाई सुरक्षित स्थानमा पठाइदिन आग्रह गरिन् ।
मंगलबार पत्रकार जैशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पत्रकार तथा मानवअधिकारकर्मीहरूको संयुक्त टोली नेपालगन्ज मेडिकल कलेज पुगेको थियो । त्यस्तै, सो टोलीले बौनिया इलाका प्रहरी कार्यालय इञ्चार्ज कलेन्द्रबिक्रम शाहीलाई भेटेर घटनाबारे थप जानकारी लिएको थियो ।
टोलीमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रकाशबिक्रम शाह, कैलालीका पूर्व जिल्ला अध्यक्ष भरत शाह, सचिव मीन ठकुरी, इन्सेक क्षेत्रीय कार्यालयका अधिकृत कृष्ण विकको सहभागिता रहेको थियो ।

उपचारमा आर्थिक समस्या

दु:ख पोख्दै पत्रकार जैशीकी आमा । 

घाइते पत्रकार जैशीले उपचारका लागि रकम अभाव रहेको बताए । उनले आफ्नो परिवारको आर्थिक अवस्था सामान्य रहेको र भएको रकम आक्रमणकारीहरूले लुटेकोले उपचार गर्न आर्थिक अभाव भएको बताए ।
उनले आफ्नो र आमाको उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैमा आग्रह गरेका छन् ।
उनकी श्रीमतिको बौनिया बजारमा पसल रहेको छ । आक्रमणकारीले पसल तथा आफ्न्तबाट सापट गरेर राखेको रकम समेत लुटेका छन् ।
यसैबीच, नेपाल पत्रकार महासंघ, कैलालीले पत्रकार जैशीको उपचारका लागि पाँच हजार पाँच सय रुपैयाँ सहयोग प्रदान गरेको छ ।
इन्सेकका क्षेत्रीय संयोजक खड्गराज जोशीले पनि उनको उपचारका लागि आर्थिक सहयोग प्रदान गर्ने बताए ।

घटनाको विभिन्न पक्षबाट विरोध
कैलालीका पत्रकार जैशी र उनको परिवारमाथि भएको आक्रमण घटनाको विभिन्न पक्षबाट विरोध भएको छ । घटना भएको तीन दिन वितिसक्दा पनि दोषीहरू पक्राउ गर्न नससकेको संघसंस्थाहरूले रोष व्यक्त गरेका छन् ।
विभिन्न नागरिक संस्थाहरूले मंगलबार बौनियामा संयुक्त विरोध सभा गरेका थिए । विरोध सभामा बौनिया बजार व्यवस्थापन समिति अध्यक्ष रुपक सुनार, नागरिक अगुवा खेमराज भट्ट, होटल व्यावसायी संघका जिल्ला सदस्य टेकबहादुर थापा, पत्रकार महासंघका प्रदेश सभासद लीलाजंग शाही, जिल्ला सदस्य देवानन्द न्यौपाने लगायतले पत्रकार जैशीको परिवारमाथि आक्रमण गर्ने र लुटपाट गर्नेहरूलाई पक्राउ गरी कानूनी कारबाही गर्न माग गरे ।
पत्रकार जैशी जनता टेलिभिजन र अनुमोदन दैनिक पत्रिकासंग आवद्ध छन् ।

 

सम्बन्धित समाचार 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार