६ कार्तिक २०८१, मंगलवार

मानवअधिकार विषयक अन्तरक्रिया



अछाम । जिल्लामा पुरुषभन्दा बढी महिलाका अधिकार हनन हुने गरेको यहाँ आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगद्वारा सदरमुकाम मंगलसेनमा आयोजित ‘मानवअधिकारका मुख्य सवालहरू पहिचान’ विषयक अन्तरक्रियामा सहभागीले सो कुरा बताएका हुन् ।
घरेलु हिंसा, बलात्कार, छाउपडी, लैंगिक समानतामा विभेद, श्रमलगायतका क्षेत्रमा चरम विभेद हुने गरेको उनीहको भनाइ थियो ।
महिलाले रातदिन श्रम गरे पनि राम्रो व्यवहार हुँदैन, यसमा पनि एकल महिला सबैभन्दा बढीपीडित छन् महिला विकास अधिकृत भगवती अर्यालले भनिन, यौनसम्बन्धी घटना धेरै भएपनि पनि अभिव्यक्त हुन सकेका छैनन ।
पुरातनवादी सोच र संस्कार, पितृ सत्तात्मक व्यवहार र शिक्षामा महिलाको प्रभावकारी पहुँच नहुनुले पनि महिलाको अधिकार सुरक्षित हुन नसकेको सहभागीको भनाइ छ ।
पत्रकार मेनुका ढुंगानाले बालविवाहका कारणसमेत महिला हिंसा र घरेलु हिंसाका घटना बढेको बताइन् । जिल्लामा महिला पीडित देखिने र घरेलु हिंसाका घटना सबैभन्दा बढी आउने गरेपनि मिलापत्र गराउने गरिएको प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी गराए ।
उनले महिला हिंसा र घरेलु हिंसाका घटनामध्ये एक तिहाइ मात्रै प्रहरीसमक्ष आउने गरेपनि दुई तिहाइ यस्ता घटना ढाकछोप हुने गरेको र महिला आफै पनि प्रहरीसम्म पुग्न नसकेको उल्लेख गरे ।
गत आवमा मात्रै १५४ वटा महिला हिंसाका घटना दर्ता भएका र गत भदौ ११ गतेदेखि हालसम्मको अवधिमा पाँच वटा त बलातकारका मुद्दा नै दर्ता भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।
उनले भने, यो अवस्थाले नै जिल्लाको महिला हिंसाको अवस्था झल्काउछ, दु:खको कुरा कतिपय बलात्कारका घटनामा पनि पीडित र पीडक पक्ष मिलापत्र गरौ भनेर आउछन् । अन्तरक्रियामा प्रजिअ किशोरकुमार चौधरीले भने, मानवअधिकारको पूर्ण पालना गर्न राज्यका प्रत्येक अंगहरू सक्रिय छ ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत पवनकुमार भट्टले मानवअधिकार आयोगले गर्ने काम, कर्तव्य र अधिकारका बारेमा जानकारी दिदै आयोगका सबै सिफारिस सरकारले कार्यान्वयन नगरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार