१० श्रावण २०८१, बिहीबार

बाम गठबन्धनद्वारा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी



बाजुरा । बाम गठबन्धनले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका छन् । सबै प्रक्रिया पुरा गरी ५२ वटा मतदान स्थलका कर्मचारी नियुक्ति बुझेर खटिसकेको अवस्थामा एकाएक निर्णय परिवर्तन गरी कर्मचारी फिर्ता बोलाउने निर्णयको विरोध गर्दै कार्यालयमा तालाबन्दी गरिएको हो ।
मतदान स्थल कब्जा गर्ने रणनीतिका साथ आफू अनुकुलका कर्मचारी खटाउन षड्यन्त्र गरिएकोले त्यो हुन नदिन दवावका लागि तालाबन्दी गरिएको नेकपा एमाले केन्द्रीय सदस्य एवं बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा उम्मेदवार लालबहादुर थापाले बताए ।
मूख्य निर्वाचन अधिकृतले सम्पादन गरेको काम कारवाही माथि नै प्रश्न गर्नु र अविश्वास पैदा गर्नु देउवा सरकारको चुनाव धाँधली गराएर जित्ने षड्यन्त्र भएको बाम गठबन्धनको निष्कर्ष छ । बाम गठबन्धनले बजारमा नारा बाजा समेत गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएपछि निर्वाचन अधिकारी सुभद्रा शर्मा गौतम सहितका कर्मचारी कार्यालयभित्र केही समय थुनिएका थिए । परिपत्र फिर्ता नलिएसम्म तालाबन्दी जारी राख्ने बाम गठबन्धनले बताए ।
यता मतदान अधिकृत छनोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले एकलौटी गरेको भन्दै काँग्रेस निकट कर्मचारीहरूले शुक्रबार विरोध स्वरूप ज्ञापनपत्र बुझाएका थिए । नेपाल निजामती कर्मचारी युनियन संघ र नेपाल शिक्षक संघ बाजुराले विरोध सहीत मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीको कार्यालयलाई ज्ञापनपत्र बुझाएका थिए ।
योग्यता, क्षमता, तह लगायतका मापदण्डलाई आधार बनाएर, शारीरिक अवस्थालाई समेत मध्येनजर गर्दै कर्मचारीलाई खटाइएकोले शंका गर्नु राम्रो नहुने भन्दै मुख्य निर्वाचन अधिकृत पुष्प थपलियाले निर्णय सच्याउन नसकिने बताएका थिए ।
आयोगले परिपत्र पठाएको मूख्य निर्वाचिन अधिकृतले स्वीकार गरेका छन् । उनले प्रक्रिया बुझ्न भनेर पत्र पठाएको र त्यसको जवाफ लेखेर दिने बताएका छन् । उनले प्रधानमन्त्रीको निर्देशन भन्न नमिल्ने बताए ।
निर्वाचन आयोग र मूख्य निर्वाचन अधिकृतको कार्यालयलाई कुनै दलको नेताले दबाब दिँदैमा प्रभावित नहुने बताए । तत्काल बैठक बस्ने र छलफल पछि निष्कर्षमा पुग्ने मूख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले बताए ।

बाम गठबन्धनद्वारा विरोध
प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा निर्वाचन आयोगले मूख्य निर्वाचन अधिकृतको कार्यालयलाई कर्मचारीलाई तत्काल फिल्ड नपठाउने आसहयका साथ एकाएक परिपत्र गरेको बाम गठबन्धनले आरोप लगाएको छ ।
सामग्री सहित नियुक्तिपत्र बुझेर बाटो लागेका मतदान अधिकृत सहीतको टोलीलाई सामान फिर्ता गराई गोलाप्रथाबाट पुनः खटाउन आयोगले परिपत्र जारी गरेको हो । देउवा शनिरबार चुनावी सभा संवोधन गर्न बाजुरा आएका थिए ।
नेपाली काँग्रेस बाजुराको अनुरोध र प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा आयोगले एकाएक आइतबार बिहान परिपत्र पठाएको बताइएको छ । ७० वटा मतदान स्थलमध्ये ५२ स्थलका मतदान अधिकृतले सामग्री सहीत नियुक्ति बुझी बाटो लागि सकेका थिए ।
निर्वाचन आचारसंहिता विपरित मूख्य निर्वाचन अधिकृतको कार्यालयको काम प्रति नै अविश्वास राखेर आयोगले गोलाप्रथाबाट मतदान अधिकृत तोक्न पत्र पठाएको छ । एकाएक कर्मचारीलाई फिर्ता बोलाएर पछि कर्मचारी स्वयम् असन्तुष्ट बनेका छन् ।
बाटो लागिसकेकोले आफूहरू फिर्ता नहुने, दवाव दिए काममा नखट्ने निजामति कर्मचारी संगठनका अध्यक्ष मीनप्रसाद जैशीले बताए । बिच्छ्या लगायतका क्षेत्रमा आइतबार नहिँडी पुग्नै सकिदैन, गोला प्रर्था गरी पठाउने समय नै छैन्, जैशीले भने ।
मतदान स्थलमा आफू अनुकुलको कर्मचारी खटाउने मनसाहयका साथ काँग्रेसले प्रधानमन्त्रीबाट दवाव दिन लगाएको एकीकृत नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष रतनप्रसाद जैशीले बताए । एमाले माओवादी निकट कर्मचारी संघ संगठनले सयुक्त रुपमा ज्ञापनपत्र समेत बुझाएका छन् ।
आयोगको परिपत्र प्रति संघ, संगठन र युनियन सबै कर्मचारी असन्तुष्ट बनेका छन् । मतदान केन्द्र कब्जा गर्ने रणनीति सहित आयोगलाई नै दवाव दिएर पठाइएको परिपत्र बाम गठबन्धनलाई स्वीकार्य नहुने बाम गठबन्धन निर्वाचन परिचालन समिति सचिवालय सदस्य एवं एमाले नेता लालबहादुर ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार