६ कार्तिक २०८१, मंगलवार

बैतडीमा औषधि अभाव



बैतडी । बैतडीका विभिन्न स्वास्थ्य सस्थामा औषधिको अभाव भएको छ । स्थानीय तहबाट रकम निकासी नहुँदा र निकासी भएको ठाउँमा समेत थोरै औषधि खरिद भएकाले औषधिको अभाव भएको स्वास्थ्य संस्थाले जनाएका छन् ।
जिल्लाको दशरथचन्द नगरपालिकाले समयमा बजेट निकासा नगर्दा जिल्ला अस्पताल बैतडीले प्रदान गर्ने सेवा प्रवाहमा समस्या भएको छ । बैतडी जिल्ला अस्पताल विकास समितिको बिहीबार बसेको बैठकमा अस्पतालले सञ्चालन गर्ने सेवा बजेटको अभावमा प्रवाह गर्नमा समस्या भएको जानकारी दिइएको छ । यसअघि अस्पताल विकास समितिकै खातामा आउने रकम दशरथचन्द नगरपालिकाको खातामा आएको र अहिलेसम्म बजेट निकासा नहुँदा अस्पतालमा औषधि, केमीकल लगायतका अतिआवश्यक कुराहरूको अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले बताए ।
जिल्ला अस्पताल र दशरथचन्द नगरपालिकाबीच समयमै समन्वय नहुँदा समस्या देखिएको हो । गएको असोज २६ गते नै बजेट निकासका लागि नगरपालिकालाई पत्र लेखेको डाक्टर अवस्थीले बताए । नगरपालिकाले विविध कारणले अझै पनि बजेट निकासा गर्न सकिरहेको छैन् ।
अस्पतालका लागि निकासा गर्नुपर्ने बजेट छिट्टै निकासाका लागि पहल गर्ने दशरथचन्द नगरपालिका वडा नं ४ का वडा अध्यक्ष मोहन चन्दले जानकारी दिए । कर्मचारी अभाव, निर्वाचन लगायतका कारणले समयमा बजेट निकासा हुन नसकेको उनले स्वीकार गरेका थिए ।
अस्पतालमा देखिएको समस्या समाधानका लागि पहल गर्ने अस्पताल विकास समितिका अध्यक्ष रमेश भण्डारीले बताए । स्वास्थ्यको बजेट सबै स्थानीय तहहरूमा गईसकेपछि पहिलो चौमासिकमा कुनै पनि कार्यक्रम सञ्चालन नभएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई हतारमा स्थानीय तहमा हस्तान्तरण गर्दा समस्या आएको डाक्टर अवस्थीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार