६ कार्तिक २०८१, मंगलवार

डोटीमा स्वास्थ्यकर्मीको अभाव



डोटी । डोटीमा लामो समयदेखि स्वास्थ्यकर्मीको अभाव रहेको छ । जिल्लाको समग्र स्वास्थ्य क्षेत्रमा २० प्रतिशत कर्मचारी अभाव रहेको एक तथ्यांक सार्वजनिक गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीले सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लामा प्रशासनिक कर्मचारीतर्फ ७८ जनाको स्वीकृत दरबन्दी रहेकोमा ४२ वटा दरबन्दी मात्रै पदपूर्ति रहेको छ ।
त्यस्तै, प्राविधिक कर्मचारीतर्फ तीन सय तीन वटा स्वीकृत दरबन्दी रहेकोमा दुई सय ५५ मात्रै परिपूर्ति रहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयमा चारजना एमबिबिएस डाक्टरको दरबन्दी रहेकोमा अहिले एक जनामात्रै डाक्टर कार्यरत छन् । एकजना छात्रवृत्ति करार र दुईजना एनएसआई नामक अमेरिकन संस्थाबाट गरी चार जना डाक्टरले अहिले सेवा दिइरहेका छन् । जिल्लामा रहेका दुईवटा प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा एक/एक जना गरी जिल्लाभरी छ जना डाक्टरले सेवा मात्रै दिइरहेका छन् ।
जिल्ला स्वास्थ्यको तथ्यांक अनुसार जिल्लाभरिमा ५ जना डक्टरको दरबन्दी स्वीकृत भएता पनि दुई डक्टरको दरबन्दी रिक्त रहेको छ । त्यस्तै एचए र सिनियर अहेवको स्वीकृत दरबन्दी संंख्या ५४ रहेकोमा ४३ वटा दरबन्दी मात्रै परिपूर्ति रहेकाले ११ वटा दरबन्दी रिक्त छन् ।
जिल्लामा अहेवको जम्मा १ सय ६ वटा स्वीकृत दरबन्दी रहेकोमा ८२ वटा दरबन्दी मात्रै परिपूर्ति रहेकाले २४ वटा दरबन्दी रिक्त छन् । अनमीको कूल दरबन्दी संख्या १ सय ८ वटा रहेकोमा एक सय वटा दरबन्दी परिपूर्ति गरिएकाले ८ वटा दरबन्दी रिक्त छन् । जिल्लाका २ मात्र प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा ल्याब टेक्निसियनको दरबन्दी रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिषकुमार बिष्टले बताए ।
भौगोलिक रूपमा कठिनाई रहेको डोटीमा कर्मचारी अभावले पनि चाहे अनुरुप स्वास्थ्य सेवा प्रवाहमा समस्या रहेको उनले बताए । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बालरोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ वा मेडिकल जनरलमध्ये एकजनाको दरबन्दी रहेको र मेडिकल सुपरिटेन्डेन्टको जिम्मा पनि तिनकै हुने भए तापनि दरबन्दी स्विकृत भए यता कहिल्यै पूर्ति भएको छैन । नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा जिल्लाहरूको ‘न्यूनतम सेवा मापदण्ड’ मूल्यांकन गर्दा डोटीले जनशक्ति अभावकै कारण १० अंक प्राप्त गर्न सकेको छैन ।

कात्तिक २९ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार