पशुपति फारवेष्ट कपको मिति सर्‍यो



धनगढी । कैलालीको धनगढीमा आयोजना हुन लागेको पशुपति फारवेष्ट कप २०७४ को मिति सरेको छ । मंसिर २ गतेदेखि हुने भनिएको कपको निर्वाचनका कारण मिति सारिएको आयोजकले जानकारी दिएको छ ।
पशुपति युवा क्लवले आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी मंसिर २८ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ ।

फाइल तस्बिर

आगामी मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि सदस्य तथा प्रदेश सभा सदस्यका लागि हुन लागेको निर्वाचनका कारण प्रतियोगिताको मिति सार्नुपरेको क्लवका अध्यक्ष खेम रावतले बताए । ‘प्रतियोगिताको सम्पूर्ण तयारी भइसके पनि दर्शक र टिमको सहभागिता हुन सक्दैन, त्यसैले मंसिर २८ गतेदेखि प्रतियोगिता गर्ने निर्णय गरेका हौं’ उनले भने ।
प्रतियोगितामा यस पटक विजेतालाई तीन लाख तथा उपविजेतालाई डेढ लाख र विभिन्न ५ वटा विधामा उत्कृष्ट हुने खेलाडीलाई १०/१० हजार रुपैयाँ सहित पाँच लाख रुपैयाँ बढी पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष रावतले बताए ।
प्रतियोगिताको अघिल्लो संस्करणको विजेतालाई दुई लाख र पहिलो वर्ष एक लाख नगद पुरस्कार दिइएको थियो । ‘खेल र खेलाडीको विकासको रहर, छाउँदैछ फारवेष्ट पशुपति कपको लहर’ भन्ने नारा सहित हुने प्रतियोगितामा झण्डै २० लाख खर्च हुने अनुमान गरिएको छ । धनगढीको क्षेत्रीय रंगशालामा हुने प्रतियोगितालाई विगतका वर्षहरूभन्दा अझ भव्य रूपमा आयोजना गर्ने तयारी थालेको क्लवका सचिव ललीत मिश्रले बताए ।
प्रतियोगितामा १६ वटा क्लवको सहभागिता रहने छ । सुदूरपश्चिमका साथै पुर्वी नेपाल र भारतका क्लवहरूले पनि प्रतियोगितामा भाग लिन चासो देखाएको आयोजकले जनाएको छ ।
२०६८ सालमा भएको छैठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई स्वर्ण जिताउने खेलाडीहरूले स्थापना गरेको क्लवले फुटवलको विकास गर्दै नयाँ खेलाडी उत्पादन गराउनका लागि फारवेष्ट पशुपति कप आयोजना गर्दै आएको छ ।

कात्तिक २७ गते (ep

प्रतिक्रिया दिनुहोस्