१० श्रावण २०८१, बिहीबार

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन : दल तथा उम्मेदवार जुटे प्रचारप्रसारमा



धनगढी । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको दोस्रो चरणको निर्वाचनका क्रममा बिहीबार उम्मेदवारको मनोनयन दर्तासंगै चुनावी प्रचारप्रसार तीब्र बनाइदैछ ।
यद्यपि उम्मेदवारको अन्तिम नामावली तथा चुनाव चिन्ह प्रदान गर्ने कार्य बाँकी नै छ । भोली (आइतबार) सम्म उम्मेदवारले नाम फिर्ता लिने समय रहेको छ ।
प्रमुख राजनीतिक दल तथा उम्मेदवारहरू प्रचारप्रसार रणनीति बनाउन व्यस्त रहेका छन् । कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली काँग्रेसका उम्मेदवार डाक्टर आरजु राणा देउवाले शुक्रबार अबेर रातिसम्म पार्टीका विभिन्न इकाई, भातृ तथा सुभेच्छुक संगठनका पदाधिकारी तथा सदस्य र कार्यकर्तासंग चरणवद्ध रूपमा भेटघाट गरिन् ।
नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाहका अनुसार आज (आइतबार) देखि क्षेत्र नम्बर ५ का सबै वडा, टोलवस्तीमा कार्यकर्ता भेटघाट तथा आम नागरिकसंग अन्तरक्रिया कार्यक्रम तय भएको छ ।
काँग्रेस सभापति शाहले पार्टीले प्रचारप्रसार रणनीति तथा संरचना निर्माण गरिरहेको बताए । उनले जिल्लाका सबै निर्वाचन क्षेत्र (प्रतिनिधि सभा तथा प्रदेश) का लागि निर्वाचन परिचालन कमिटी गठन गरिने बताए ।
त्यस्तै, बाम गठबन्धनले चुनावी प्रचारप्रसारलाई तीब्र बनाएको छ । बाम गठबन्धन कैलालीको शुक्रबार धनगढीमा भएको एक बैठकले निर्वाचन परिचालन कमिटिका साथै विभिन्न उपसमिति गठन गरेको जनाएको छ ।

 

बाम गठबन्धनले बनायो– निर्वाचन परिचालन कमिटी
यता, कैलालीमा बाम गठबन्धनले आइतबार कैलाली ५ वटै क्षेत्रमा निर्वाचन परिचालन समन्वय कमिटी गठन गरेको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको कैलाली जिल्ला एकता संयोजन समितिको शुक्रबार धनगढीमा बसेको बैठकले प्रतिनिधिसभा र प्रदेश सभाका लागि छुट्टाछुट्टै कमिटी गठन गरेको पार्टी अध्यक्ष दीर्घ सोडारीले बताए ।
अध्यक्ष सोडारीका अनुसार प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर १ मा एमालेका भैरव रावल, २ मा एमालेका महादेव बजगाईं, ३ मा माओवादी केन्द्रका हरि श्रीपाइली, ४ माओवादी केन्द्रका बलबहादुर महता र क्षेत्र नम्बर ५ मा एमालेका लक्ष्मण कुँवरको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
त्यस्तै, प्रदेश सभा सदस्यका लागि पनि निर्वाचन परिचालन समन्वय कमिटी गठन गरिएको छ । क्षेत्र नम्बर १ क मा एमालेका शिवराज विनाडी, १ ख मा माओवादीका फिरुलाल चौधरी, २ क मा एमालेका केवालाल चौधरी, २ ख मा माओवादीका गणेश गिरी, ३ क मा माओवादीका सुरेन्द्र चौधरी, ३ ख मा एमालेका खडक रावत, ४ क मा एमालेका पदम सिंगाल, ५ क मा एमालेका यज्ञराज वास्तोला र ५ ख मा माओवादीका निर्मल शाहलाई संयोजक तोकिएको छ ।
एमालेका जिल्ला अध्यक्ष सोडारीको अध्यक्षतामा भएको बैठकमा माओवादी केन्द्रका प्रदेश ईञ्चार्ज लेखराज भट्ट, एमाले नेतृ गरिमा शाह, एमालेका जिल्ला सचिव रणबबहादुर चन्द, नेता बास्तोला, विमल जोशी, माओवादीका नेता बलबहादुर महता र लक्ष्मण चौधरी लगायतको सहभागिता रहेको थियो ।

जिल्लास्तरीय निर्वाचन प्रचारप्रसार कमिटी गठन
त्यस्तै, एमालेले जिल्ला स्तरीय निर्वाचन प्रचारप्रसार कमिटी पनि गठन गरेको छ ।
शुक्रबार बसेको बैठकले लक्ष्मण कुँवरको संयोजकत्वमा ११ सदस्यीय कमिटी गठन गरिएको हो ।
समितिमा एमालेका लोकेन्द्र शाही, धिमलाल जोशी, प्रकाशविक्रम शाह, हेमकर्ण विक, वीरेन्द्रबहादुर रावल, मीन ठकुरी, लीलाराज शाही, प्रकाश मिश्र, मोहन जोशी लगायत रहेका छन् ।
त्यसैगरी, एमाले जिल्ला सचिव रणबहादुर चन्दको संयोजकत्वमा मूल निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । मूल कमिटीमा विमल जोशी सचिव रहेका छन् । भने निर्वाचन क्षेत्रका इञ्चार्ज क्रमश: प्रेम साउँद, डेजी पाण्डे, जयनारायण जोशी, पदमसिंह सिंंङाल, लक्ष्मण कुँवर सदस्य छन् । कमिटीमा दुर्गा जोशी, दीर्घ जोशी कापडी, छाया थापा, कमला केसी र कलावति जोशी पनि सदस्य रहेका छन् ।
त्यस्तै, दुर्गा जोशीको संयोजकत्वमा आर्थिक कमिटी गठन गरिएको छ ।
त्यसैगरी निर्वाचनमा आफ्ना उम्मेदवार विजयी गराउन एक उम्मेदवार–एक पत्रकार परिचालन गरिने प्रेस चौतारी नेपाल कैलालीका अध्यक्ष मीन ठकुरीले बताए ।

कात्तिक १८ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार