६ कार्तिक २०८१, मंगलवार

दार्चुलामा आयोडिन नूनको अभाव



दार्चुला । दार्चुलाका दुर्गम गाउँमा अझैं पनि उपभोक्ताले सहज रूपमा आयोडिन नून उपभोग गर्न पाइरहेका छैनन् ।
जिल्लाको अपिहिमाल गाउँपालिका लगायतका दुर्गम गाउँवस्तीका उपभोक्ताले अझैं पनि ढिके नून नै प्रयोग गर्नुपर्ने बाध्यता छ । स्थानीय रमेशसिंह कार्कीले भने– ‘गाउँमा आयोडिनयुक्त नुन पाइहाले पनि प्रतिकिलो ६० देखि ८० रुपैयाँ तिर्नुपर्ने बाध्यता छ ।’
उनका अनुसार स्थानीय लटिनाथ बजार, सेलबिसा बजारबाट आयोडिन नून खरिद गरेर ल्याउन समस्या रहेको छ । सडक यातायातको सहज पहुँच नभएको र भरियामार्फत बोकाएर नून ढुवानी गर्दा निकै महंगो हुने गरेको छ । हाल दार्चुलाको मार्मा गाउँपालिकाको पारिबगरसम्म मात्र जीप यातायात सेवा सञ्चालनमा छ ।
पारिबगरबाट अपिहिमाल गाउँपालिकासम्म सामान ढुवानी गरेवापत ३५ देखि ४५ रुपैयाँ प्रतिकिलोका दरले भाडा तिनुपर्ने बाध्यता रहेको स्थानीय व्यापारी मानसिंह धामीले बताए । उनले भने– ‘ढुवानी भाडा महंगो भएकाले यहाँका उपभोक्ताले नून तथा खाद्यान्न महंगो मूल्यमा खरिद गर्नु परिरहेको छ ।’
दार्चुलाको सदरमुकाम खलंगा र गोकुलेश्वरमा मात्र साल्ट ट्ेरडिङ कर्पोरेशनको नून बिक्री डिपो रहेको छ ।
गोकुलेश्वर र खलंगामा प्रतिकिलो नौ रुपैयाँमा नून उपलब्ध रहेको छ । साल्ट ट्ेरडिङका खलंगा डिपो प्रमुख प्रेमसिंह कुँवरले संस्थानले सदरमुकामसम्मका लागि मात्र ढुवानी भाडा दिएका कारण दुरदराजका गाउँमा सुपथ मूल्यमा नून पुर्‍याउन नसकिएको बताए ।
अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द सिंह मन्यालले गाउँमा साल्ट ट्ेरेडिङको बिक्री डिपो राख्न माग गरिएको बताए ।
उनले गाउँपालिकाले पाँच सय क्विन्टल नून ढुवानीका लागि ठेक्का सम्झौता गरेको बताए । उनले सो नून ढुवानी भएपछि गाउँका उपभोक्ताले प्रतिकिलो २५ रुपैयाँका दरले आयोडिन नून पाउने बताए ।

कात्तिक १५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार