११ श्रावण २०८१, शुक्रबार

कैलालीमा एमालेले उम्मेदवार टुंग्यायो : उपमहानगर क्षेत्रमा राणा र रानाको प्रतिस्पर्धा



धनगढी । नेकपा (एमाले) स्थायी कमिटी बैठकले कैलाली जिल्लाबाट प्रदेश सभाका लागि पार्टीको तर्फबाट उम्मेदवार टुंग्याएको छ । सोमबारको बैठकले माओवादी केन्द्रसंगको सिट बाँडफाँटपछि आफ्नो भाग परेका क्षेत्रमा उम्मेदवार टुंग्याएको हो । प्रदेश सभाको क्षेत्र १ (क) मा लालवीर चौधरीलाई उम्मेदवार बनाएको छ । क्षेत्र नम्बर २ (ख) मा पार्टीका जिल्ला उपाध्यक्ष रतन थापा, क्षेत्र नम्बर ३ (ख) मा अमर साउँद, क्षेत्र नम्बर ४ (क) मा जिल्ला अध्यक्ष दीर्घ सोडारी, (ख) मा कृष्णराज सुवेदी र क्षेत्र नम्बर ५ (क) मा जिल्ला सहसचिव नेपालु चौधरीलाई उम्मेदवार बनाएको पार्टी स्रोतले जानकारी दिएको छ । एमाले प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य गरिमा शाह, क्षेत्र नम्बर २ मा वैकल्पिक केन्द्रीय सदस्य झपट रावल, क्षेत्र नम्बर ५ मा पूर्व सभासद् नारदमुनी रानालाई उम्मेदवार बनाइसकेको छ ।
नेपाली कांग्रेसले क्षेत्र नम्बर ५ मा पार्टी केन्द्रीय सदस्य आरजु राणालाई उम्मेदवार बनाउने निश्चित गरेको छ । क्षेत्र नम्बर १ मा तत्कालीन फोरम नेता जनकराज चौधरीको दावी रहेकाले उम्मेदवारी टुंगो नलागेको बताइएको छ । कांग्रेस र लोकतान्त्रिक फोरमको एकीकरणपछि चौधरी कांग्रेस भएका हुन् । पहिले कांग्रेसका नेता रहेका रामजनम चौधरी क्षेत्र नम्बर ३ मा र पूर्व केन्द्रीय सदस्य सुनिलकुमार भण्डारी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा उम्मेदवार बन्ने निश्चित भएको कांग्रेस स्रोतले जनाएको छ ।
क्षेत्र नम्बर १ बाट कांग्रेस केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई प्रतिनिधि सभामा उम्मेदवार बनाउने र निवर्तमान सांसद जनकराज चौधरीलाई राष्ट्रिय सभा वा अन्य कुनै पदमा लैजाने गरी कसरत भइरहेकोले आज (मंगलबार) बिहानसम्म टुंगो लाग्ने स्रोतले बताएको छ । क्षेत्र नम्बर १ को प्रतिनिधि सभा उम्मेदवारमा कुरा मिले प्रदेश सभाका लागि (क) मा बुद्धिसागर चौधरी र (ख) मा रणबहादुर रावललाई कांग्रेसले उम्मेदवार बनाउने छ ।
यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा कमलबहादुर शाह र विजय स्वाँरमध्ये एक जना र प्रदेश सभाका लागि अरुण चौधरी र शिवा थापा उम्मेदवार बन्ने स्रोतको भनाई छ ।
नेकपा (एमाले) संग चुनावी तालमेल गरेको माओवादी केन्द्रले प्रतिनिधि सभामा क्षेत्र नम्बर ४ मा लेखराज भट्टलाई उम्मेदवार बनाएको छ । क्षेत्र ३ मा गौरीशंकर थारू र वीरभान चौधरीको दावी छ स्रोतका अनुसार वीरभानलाई प्रदेश सभा उम्मेदवार बनाएर मिलाउने प्रयास भइरहेको छ । केन्द्रलाई भाग परेको क्षेत्र नम्बर १ (क) मा नेपबहादुर चौधरी, क्षेत्र नम्बर २ मा (ख) मा राजेन्द्र साउँद र क्षेत्र नम्बर ५ (ख) मा रमेश धामी उम्मेदवार बनाउने तयारी पार्टीले गरेको सुत्रको दावी छ ।

मुख्य प्रतिस्पर्धी राणा र राना
प्रदेश नम्बर ७ को एक मात्र उपमहानगरपालिका धनगढी क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार आरजु राणा र एमाले माओवादी केन्द्रका साझा उम्मेदवार नारदमुनी रानाबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । यसअघि कांग्रेसले जित्दै आएको क्षेत्र र स्थानीय तह निर्वाचनमा कांग्रेस उम्मेदवार विजयी भएको धनगढीमा कांग्रेस उम्मेदवार राणाले जित्ने कांग्रेसको दावी छ भने धनगढी क्षेत्रका रैथाने, धनगढी नगरपालिकाको उपप्रमुख भइसकेका राना अहिले दुई पार्टीका साझा उम्मेदवार भएकाले जित्ने वाम गठवन्धनको दावी छ ।

कात्तिक १४ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार