११ श्रावण २०८१, शुक्रबार

पाँच महिनाअघि सम्झौता, अझैं काम शुरु भएन



धनगढी । सडक मर्मत कार्यका लागि सम्झौता भएको पाँच महिना वितिसक्दा पनि अझैं काम शुरु भएको छैन । धनगढी उपमहानगरपालिका वडा नम्बर २, महालक्ष्मी बैंकदेखि चन्दन टाकिज जाने बाटोको कल्र्भटसम्मको सडक मर्मत कार्यका लागि पाँच महिनाअघि नै सम्झौता भएको बताइएको छ ।
सो सडकखण्डको मर्मत कार्यको ठेक्का लिएको निर्माण कम्पनीलाई काम अघि बढाउन उपमहानगरपालिकाले कार्यादेश दिए पनि गत आर्थिक वर्ष २०७३/७४ मा काम अघि बढाउन सकेन । अहिले सेती अञ्चल प्रहरी कार्यालयले तारवार नहटाएकाले निर्माण कार्य अघि बढ्न नसकेको बताइन्छ ।
नगर पूर्वाधार विकास कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको सो सडक मर्मतका लागि उपमहानगरपालिकाले गत जेठ ३ गते निर्माण कम्पनीलाई कार्यादेश दिएको थियो ।
चार सय ५० मिटर लामो सो सडकखण्डमा कालोपत्रे र उत्तरतर्फ नाली निर्माणका लागि ४९ लाख आठ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । सो सडकको दक्षिणतर्फ आर्थिक वर्ष २०६८/०६९ सालतिर शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले नाली निर्माण गरिसकेको छ । यस वर्ष धनगढी उपमहानगरपालिकाले उत्तरतर्फ ९५ मिटर चौडाईको नाली निर्माण गर्ने जनाएको छ । सो सडकको चौडाई सात मिटर रहने उपमहानगरपालिका कार्यालयले जनाएको छ ।
उपमहानगरपालिकाका इञ्जिनियर द्विजराज भट्टका अनुसार सो सडक निर्माणका लागिसुरज कन्स्ट्रक्सनले ठेक्का पाएको छ । निर्माण कम्पनी र धनगढी उपमहानगरपालिकाले पटक–पटक अञ्चल प्रहरी कार्यालयलाई तारबार हटाउन पत्राचार गर्दा समेत कुनै प्रतिक्रिया नआएको इञ्जिनियर भट्टले बताए ।
ईञ्जिनियर भट्टले अञ्चल प्रहरी कार्यालयलाई तारबार हटाउन आइतबार पुन: पत्रचार गरिएको र एक साताभित्रै काम शुरु हुने विश्वास व्यक्त गरे ।
सो सडक २०४८ सालमा निर्माण भएको थियो । हाल सो सडक निकै बिग्रिएको अवस्थामा रहेको छ ।

कात्तिक १३ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार