१० श्रावण २०८१, बिहीबार

कैलालीमा पाँचवटै निर्वाचन क्षेत्रका कार्यालय खुले



धनगढी । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि कैलाली जिल्लाका सबै निर्वाचन क्षेत्रका मुख्य निर्वाचन अधिकृतका कार्यालय आज धनगढीमा खुलेका छन् ।
जिल्ला अदालत कैलालीका न्यायधिश विष्णुप्रसाद अर्याल र प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सयुक्त रुपमा ती कार्यालयहरू उद्घाटन गरे ।
प्रतिनिधि सभा क्षेत्र नम्बर १ र त्यसभित्रका प्रदेश सभा सदस्य (दुवै क्षेत्र)का मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला कृषि विकास कार्यालयमा खुलेको छ । क्षेत्र नम्बर २ र त्यसभित्रका प्रदेश सभा सदस्य (दुवै क्षेत्र)का मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्रीय वन कार्यालयमा खुलेको छ । क्षेत्र नम्बर ३ र त्यसभित्रका प्रदेश सभा सदस्य (दुवै क्षेत्र)का मुख्य निर्वाचन अधिकृतको कार्यालय सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय चौराहामा खुलेको छ । क्षेत्र नम्बर ४ र त्यसभित्रका प्रदेश सभा सदस्य (दुवै क्षेत्र)का मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समिति र क्षेत्र नम्बर ५ र त्यसभित्रका प्रदेश सभा सदस्य (दुवै क्षेत्र)का मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रमा राखिएको छ ।
पाचवटै निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृत तोकिएका छन् । निर्वाचन आयोगका क्षेत्रीय निर्वाचन अधिकारी मोहनप्रसाद अर्यालका अनुसार क्षेत्र नम्बर ५ मा विष्णुप्रसाद अर्याल, क्षेत्र नम्बर ४ मा अर्जुनप्रसाद कोइराला, क्षेत्र नम्बर ३ मा पिताम्बर भण्डारी, क्षेत्र नम्बर २ मा शिवहरी पौडेल र क्षेत्र नम्बर १ मा खिमानन्द भूषाल खटिएका छन् ।
प्रमुख निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले निर्वाचनलाई मर्यादित बनाउन राजनीतिक दलहरू र उम्मेदवारहरू अनुशासित भैदिनुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाधलीरहित बनाउन सबै निकाय लागिरहेको जिल्लामा निर्वाचन सुरक्षा कार्ययोजना बनाई निर्वाचन कार्यालय, निर्वाचन सामग्री, आवश्यकचाअनुसार उम्मेदवारको सुरक्षाको व्यवस्था भइरहेको बताए ।
निर्वाचन कार्यतालिका अनुसार कात्तिक १५ गते प्रतिनिधि सभार प्रदेश सभा निर्वाचनका उम्मेदवारहरूले मुख्य निर्वाचन अधिकृतका कार्यालयमा आआफ्ना उम्मेदवारी दर्ता गर्नेछन् । मंसिर २१ गते जिल्लाका सबै मतदान केन्द्रमा मतदान भैसकेपछि मतपेटिकाहरू धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइ गणना गरिनेछ ।
कैलाली जिल्लाका पाँचबटै निर्वाचन क्षेत्रमा यस पटक ४ लाख ५७ हजार ४ सय ९८ मतदाता रहेका छन् ।
निर्वाचन कार्यालयको तथ्यांक अनुसार क्षेत्र नम्बर १ मा ९० हजार ६ सय ७४, क्षेत्र नम्बर २ मा ८९ हजार ८ सय ७१, क्षेत्र नम्बर ३ मा ९१ हजार ७ सय ३३, क्षेत्र नम्बर ४ मा ९३ हजार ३ सय ८४, क्षेत्र नम्बर ५ मा ९१ हजार ८ सय ३८ कतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार