१० श्रावण २०८१, बिहीबार

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन



धनगढी । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पहिलो चरणको निर्वाचनका लागि बुधबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ ।
यस क्रममा प्रदेश नम्बर ७ का पहिलो चरणमा निर्वाचन हुने बैतडी, बझाङ, बाजुरा र दार्चुलामा पनि उम्मेवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ ।
पहिलो चरणको निर्वाचनमा प्रदेश नम्बर ७ का चार जिल्लामा प्रतिनिधि सभाका लागि २१ र प्रदेश सभाका लागि ३९ जना गरी ६० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
यी चार जिल्लामा प्रतिनिधि सभाका लागि चार र प्रदेश सभाका लागि आठ स्थानको निर्वाचन भइरहेको छ ।
बैतडी र बझाङबाट प्रतिनिधि सभा सदस्यका दुई जना र प्रदेश सभा सदस्यका एक जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
बैतडीबाट राष्ट्रिय जनसमाजवादी पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका धनबहादुर बोहराले उम्मेदवारी फिर्ता लिएका छन् ।
बझाङमा प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका गोपालबहादुर खड्का र प्रदेश सभा सदस्यका लागि क्षेत्र नम्बर ‘क’ बाट उम्मेदवारी दिएका शेरबहादुर बोहराले उम्मेदवारी फिर्ता लिएका छन् । एमालेका खड्का र बोहरा दुवै जनाले टिकट वितरणमा असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिएका थिए ।
अब बझाङमा प्रतिनिधि सभा सदस्यका लागि नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंह र एमालेका भैरबहादुर सिंहबीच सोझो प्रतिस्पर्धा रहेको छ ।
प्रदेश सभा सदस्यमा एमालेका अर्जुनबहादुर थापा क्षेत्र नम्बर ‘क’ का लागि र माओवादी केन्द्रका देवकी मल्ल (थापा) ‘ख’ क्षेत्रका उम्मेदवार रहेका छन् ।
त्यस्तै, नेपाली काँग्रेसबाट प्रदेश सभा सदस्य क क्षेत्रमा चन्द्रादेवी जोशी र ख क्षेत्रमा नरेशबहादुर सिंह उम्मेदवार रहेका छन् ।
बैतडीमा प्रतिनिधि सभामा पाँच र प्रदेश सभामा सात जना चुनावी मैदानमा रहेका छन् । त्यस्तै, बाजुरामा प्रतिनिधि सभा सदस्यमा तीन जना र प्रदेश सभा सदस्यमा १० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
दार्चुलामा प्रतिनिधि सभा सदस्यका लागि पाँच जना तथा प्रदश सभा सदस्यका लागि दश जना प्रतिस्पर्धा गरिरहेका छन् ।
बाजुरामा नेपाली काँग्रेसको तर्फबाट पार्टी सभापति कविराज पण्डित र नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका छन् ।
त्यस्तै, प्रदेश सभा सदस्यका लागि ‘क’ क्षेत्रबाट नेपाली काँग्रेसको तर्फबाट जनकराज गिरी, ‘ख’ क्षेत्रबाट पदमबहादुर शाही उम्मेदवार रहेका छन् ।
त्यस्तै, प्रदेश सभा सदस्यका लागि एमालेका तर्फबाट क क्षेत्रबाट बलदेव रेग्मी र ख क्षेत्रबाट प्रकाश शाह उम्मेदवार रहेका छन् ।
दार्चुलामा एमालेका गणेश ठगुन्ना र काँग्रेसका बिक्रमसिंह धामीबीच प्रतिस्पर्धा रहेको छ । प्रदेश सभामा क्षेत्र क मा एमालेका ग्याल्बु बोहरा र काँग्रेसका मदन गिरी र ख बाट माओवादीका मानबहादुर धामी काँग्रेसका जगदिशबहादुर पाल उम्मेदवार रहेका छन् ।
त्यस्तै, बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका नरबहादुर चन्द र एमालेका दामोदर भण्डारीबीच सोझो प्रतिस्पर्धा रहेको छ ।
बैतडीमा प्रदेश सभा सदस्य क क्षेत्रमा माओवादी केन्द्रका केशव भट्ट र काँग्रेसका हरिमोहन भण्डारी तथा क्षेत्र ख बाट एमालेका लीलाधर भट्ट र काँग्रेसका गणेश चन्दबीच प्रतिस्पर्धा रहेको छ ।

कात्तिक ०९ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार