१० श्रावण २०८१, बिहीबार

अपाङ्गता भएका व्यक्तिका लागि हेल्प डेस्क



धनगढी । एउटा टेबल, त्यसमाथि एकछेउमा खानेपानीको वाल्टिन राखिएको छ । टेबल राखिएको भित्तामा एउटा सेतो कागजमा ‘अपाङ्ग/अशक्त हेल्प डेस्क’ लेखेर टाँसिएको छ । धनगढी उपमहानगरपालिका प्रमुख र उपप्रमुखको कार्यकक्ष रहेको भवन बाहिर अपाङ्गता भएका व्यक्तिको सहायताका लागि व्यवस्था गरिएको सहायता डेस्क हो, यो ।
तर, डेस्क रित्तै छ । डेस्क हेर्ने न त कर्मचारी नै भेटिन्छन्, न सेवाग्राहीलाई बस्नका लागि कुर्सी, बेञ्चको नै व्यवस्था गरिएको छ । हेल्प डेस्कमा प्राय: कर्मचारी नबस्ने भएकाले सेवा लिन आउने सेवाग्राहीले सास्ती भोग्नु परिहेको छ ।
अपाङ्गता भएका व्यक्तिको अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाको पहलमा उपमहानगरपालिकामा हेल्प डेस्क स्थापना गरिएको जनाइएको छ । तर, सेवा दिने कर्मचारीको व्यवस्था नभएका कारण सो डेस्क प्रभावकारी हुन सकिरहेको छैन ।
उपमहानगरपालिका प्रमुख वा उपप्रमुखसंग कुनै पनि कामका लागि भेट गर्नुपरेमा अपाङ्गता भएका व्यक्ति वा असक्त व्यक्तिले सहज ढंगले सेवा पाउन सकुन् भन्ने उद्देश्यले सो हेल्प डेस्क स्थापना गरिएको बताइएको छ । कुनै पनि सेवा लिन चाहने अपाङ्गता भएका व्यक्तिले हेल्प डेस्कमा सम्पर्क गरेमा नगर प्रमुख वा उपप्रमुखले हेल्प डेस्कमा आएर उनीहरूको समस्या बुझ्ने र समस्या सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ । तर, हेल्प डेस्कमा प्राय: कर्मचारी नभेटिने गरेका कारण सेवाग्राहीले कठिनाई भोग्नु परिराखेको छ ।
सो हेल्प डेस्कमा कहिलेकाही उपमहानगर प्रमुख नृपबहादुर वडका स्वकीय सचिव हेमन्त शाहीले सेवा दिने गरेका छन् । तर, नगर प्रमुख कार्यालय बाहिर भएका बेला स्वकीय सचिव शाही पनि उनीसंगै जाने भएकाले सो डेस्क खाली हुने गरेको छ ।
मंगलबार दिउँसो एक बजे नगर प्रमुख वड काम विशेषले कार्यालयबाट बाहिर गएको बेला हेल्प डेस्क खाली हुन पुगेको थियो । अपाङ्गता अधिकारका क्षेत्रका अगुवा भीमबहादुर शाहले हेल्प डेस्कमा कार्यालय समयभरीका लागि स्थायी किसिमको कर्मचारीको प्रबन्ध नगरिएका कारण सेवाग्राहीले समस्या भोग्नु परिराखेको बताए ।
धनगढी उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधि आउनु अघि हेल्पडेस्क समेत राखिएको थिएन । ‘अहिले हेल्पडेस्क त छ, तर कर्मचारी नभएकाले समस्या भइरहेको छ’ उनले थपे ।
उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले ‘अपाङ्गता भएका व्यक्तिहरूको गुनासो सुन्न र सहज रूपमा समस्या सम्बोधनका लागि हेल्प डेस्कको व्यवस्था गरिएको’ बताइन् । उपप्रमुख मिश्र भट्टले हालका लागि हेल्प डेस्कमा कार्यालयका सहयोगीहरूलाई हेर्न लगाइएको बताइन् । उनले छिट्टै नै हेल्प डेस्कमा स्थायी प्रकृतिको कर्मचारीको व्यवस्था गरिने बताइन् ।

कात्तिक ०८ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार