१० श्रावण २०८१, बिहीबार

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन : चार जिल्लामा ६३ जना उम्मेदवार



धनगढी । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पहिलो चरणको निर्वाचनमा प्रदेश ७ का चार जिल्लामा ६३ जना उम्मेदवार रहेका छन् ।
पहिलो चरणमा प्रदेश नम्बर ७ का बझाङ, बाजुरा, दार्चुला र बैतडीमा निर्वाचन हुँदैछ । ती जिल्लामा प्रतिनिधि सभाका चार तथा प्रदेश सभाका आठ स्थानका लागि निर्वाचन हुँदैछ ।
ती जिल्लाका प्रतिनिधि सभा चार स्थानका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी २३ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै, प्रदेश सभाका आठ स्थानका लागि ४० जनाको उम्मेदवारी दर्ता भएको छ ।
बझाङमा प्रतिनिधि सभा सदस्यका लागि आठ राजनीतिक दल तथा एक जना स्वतन्त्र उम्मेदवार रहेका छन् । त्यस्तै, प्रदेश सभाको लागि क्षेत्र नम्बर ‘क’ मा एक स्वतन्त्र सहित सात दल र क्षेत्र नम्बर ‘ख’ बाट पाँच दलका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । एमालेबाट दुई जनाले स्वतन्त्र उम्मेदवार दिएका छन् ।
बझाङमा प्रतिनिधि सभा सदस्यका लागि नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंह तथा नेकपा (एमाले)का भैरवबहादुर सिंह उम्मेदवार रहेका छन् । त्यस्तै, विवेकशील साझा पार्टीका मीनबहादुर सिंहले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, बझाङका प्रदेश सभा सदस्यका लागि क्षेत्र नम्बर ‘क’ मा नेपाली काँग्रेसका चन्द्रादेवी जोशी र एमालेका अर्जुन थापा उम्मेदवार रहेका छन् ।
त्यस्तै, प्रदेश नम्बर ‘ख’ मा नेपाली काँग्रेसका नरेशबहादुर सिंह तथा माओवादी केन्द्रका देवकी मल्ल उम्मेदवार रहेका छन् ।
एमालेबाट टिकट वितरणमा असन्तुष्ट गोपालबहादुर खड्काले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् भने शेरबहादुर बोहराले प्रदेश सभा सदस्यका लागि क्षेत्र नम्बर ‘क’ बाट उम्मेदवारी दिएका छन् ।
बझाङमा उम्मेदवार छनोटमा सबैभन्दा बढी मत पाउने आकांक्षीलाई टिकट नदिएका कारण जिल्ला अध्यक्ष दिलबहादुर सिंह लगायतका नेताहरू असन्तुष्ट भएको बताइन्छ । त्यस्तै, अन्तिम समयमा केन्द्रीय सदस्य भैरबबहादुर सिंहलाई टिकट दिएका कारण एमाले नेता तथा पूर्वमन्त्री भानुभक्त जैशी समर्थक नेता, कार्यकर्ता पनि रुष्ट भएको बताइन्छ ।
बाजुरामा प्रतिनिधि सभामा तीन दल र प्रदेश सभा सदस्यमा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेस र नेकपा एमाले, नेकपा माओवादी केन्द्र, (बाम गठबन्धन) नयाँ शक्ति, राप्रपा प्रजातान्त्रिक, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) र स्वतन्त्र सहितले उम्मेदवारी दिएका छन् ।
बाजुरामा प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका जिल्ला सभापति कविराज पण्डित र नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा उम्मेदवार रहेका छन् । प्रदेश सभा सदस्यमा क्षेत्र नम्बर ‘क’ बाट नेपाली काँग्रेस जनकराज गिरी तथा क्षेत्र नम्बर ‘ख’ बाट पदमबहादुर शाही उम्मेदवार रहेका छन् ।
त्यस्तै, एमालेका तर्फबाट प्रदेश सभा सदस्य क्षेत्र नम्बर ‘क’ बाट पार्टी सचिव बलदेव रेग्मी र क्षेत्र नम्बर ‘ख’ बाट वैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाह उम्मेदवार रहेका छन् ।
बाजुरामा नयाँशक्तिले प्रतिनिधि सभा सदस्यका लागि जिल्ला संयोजक दिलीप शाहीले उम्मेदवारी दर्ता गराएका छन् । सो पार्टीका तर्फबाट प्रदेश सभा सदस्य ‘क’ क्षेत्रमा नरेन्द्र विक र ‘ख’ मा सुर्जे चँदाराले उम्मेदवारी दिएका छन् ।
राप्रपा प्रजातान्त्रिकले प्रदेश सभा सदस्यमा मात्र उम्मेवदारी दिएको छ । सो पार्टीका कान्तबहादुर शाही ‘क’ क्षेत्रबाट तथा वीरबहादुर हमाल ‘ख’ क्षेत्रबाट उम्मेदवार रहेका छन् ।
त्यस्तै, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले प्रदेश सभा सदस्यका लागि क्षेत्र नम्बर ‘ख’ बाट प्रकाश विकले उम्मेदवारी दिएका छन् । त्यस्तै, टीकाराज गिरीले प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् ।
दार्चुलामा प्रतिनिधि सभामा पाँच र प्रदेश सभामा १० जना उम्मेदवार रहेका छन् । दार्चुलामा नेपाली काँग्रेसका बिक्रमसिंह धामी र एमालेका गणेश ठगुन्ना उम्मेदवार रहेका छन् ।
दार्चुलामा प्रदेश सभा सदस्यका लागि क्षेत्र नम्बर ‘क’ मा काँग्रेसका मदन गिरी र एमालेका गेल्बु बोहरा उम्मेदवार रहेका छन् । त्यस्तै, ‘ख’ क्षेत्रबाट नेपाली काँग्रेसका जगदीशबहादुर पाल तथा माओवादी केन्द्रका मानबहादुर धामी उम्मेदवार रहेका छन् ।
त्यस्तै, नयाँ शक्तिबाट बहादुरसिंह ठगुन्नाले उम्मेदवार रहेका छन् भने रघुविरसिंह ठगुन्नाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । दार्चुलामा काँग्रस, एमाले, माओवादी केन्द्र, नयाँशक्ति सहित पाँच दलले उम्मेदवारी दिएका छन् ।
बैतडीमा प्रतिनिधि सभामा नेपाली काँग्रेस, राप्रपा, साझा विवेकशिल सहित छ दलले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधि सभा सदस्यका लागि बैतडीमा काँग्रेसका नरबहादुर चन्द, एमालेका दामोदर भण्डारी, विवेकशिल साझा पार्टीका नारायणदत्त अवस्थी, राष्ट्रिय जनमोर्चाका विरेन्द्रसिंह भण्डारी, जनसमाजवादी पार्टीका धनबहादुर बोहरा उम्मेदवार रहेका छन् ।
बैतडीमा प्रदेश सभा सदस्यमा क्षेत्र ‘क’ बाट माओवादी केन्द्रका केशव भट्ट, काँग्रेसका हरिमोहन भण्डारी, जनसमाजवादी पार्टीका भगिरथसिंह कुँवर, राष्ट्रिय मुक्ति पार्टीका दिलिपराज पाण्डे र जनमोर्चाका अर्जुननरसिंह मडै उम्मेदवार रहेका छन् ।
त्यस्तै, क्षेत्र नम्बर ‘ख’ बाट एमालेका लीलाधर भट्ट र राप्रपाका गणेश चन्दले उम्मेदवारी दिएका छन् ।

 

प्रदेश नम्बर ७ मा तीन जना मात्र महिला उम्मेदवार

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पहिलो चरणको निर्वाचनमा प्रदेश नम्बर ७ मा तीन जना मात्रै महिला उम्मेदवार रहेका छन् ।
प्रदेश नम्बर ७ को बझाङमा मात्रै तीन जना महिला उम्मेदवार रहेका छन् । अरू कुनै पनि जिल्लामा महिला उम्मेदवार रहेका छैनन् ।
बझाङमा राष्ट्रिय जनमोर्चाका कल्पना भण्डारीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएकि छन् । त्यस्तै, प्रदेश सभा सदस्यका लागि ‘क’ क्षेत्रबाट काँग्रेसकी चन्द्रादेवी जोशी र ‘ख’ बाट माओवादी केन्द्रकी देवकी मल्ल उम्मेदवार रहेकी छिन् ।

कात्तिक ०७ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार