१० श्रावण २०८१, बिहीबार

जग्गा विवादमा दुई दाजुभाइको हत्या



बाजुरा । बाजुराको त्रिवेणी नगरपालिकामा जग्गा विवादमा दुई जना दाजुभाइको
हत्या भएको छ । घटनामा एक घाइते भएका छन् ।
त्रिवेणी नगरपालिका वडा नम्बर ८ का मोहन गिरी र गोरख गिरीको परिवारबीच जग्गाबारे विवाद बढ्दै जाँदा शनिबार बिहान दुई जनाको हत्या भएको बताइएको छ ।
गोरखका छोराहरू योगेन्द्र (२०) र दिनेश (१६) ले खुँडा, खुकुरीसहितका हतियार प्रहार गरी मोहनका ३२ वर्षीय छोरा अर्जुन र २७ वर्षीय नौलेको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक जगदिश भट्टका अनुसार घटनामा मोहनका २१ वर्षीय छोरा नरेश घाइते भएका छन् ।
मोहन र गोरख गिरी सरोदर दाजुभाइ हुन् । उनीहरूबीच केही समयदेखि जग्गाको विवाद चलेको थियो ।
प्रहरीले गोरख गिरी र उनका छोराहरू योगेन्द्र, दिनेश र गणेशलाई नियन्त्रणमा लिएको छ । अभियुक्तहरूलाई सदरमुकाम मार्तडी ल्याइएको प्रहरी निरीक्षक भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार