१० श्रावण २०८१, बिहीबार

कार्यकारी अधिकृतलाई कार्यक्षेत्रमा जान आग्रह



धनगढी । कैलाली जिल्ला प्रशासन कार्यालयले मोहन्याल गाउँपालिकाका कार्यकारी अधिकृतलाई आफ्नो कार्यक्षेत्रमा गएर काम गर्न आग्रह गरेको छ ।
अनुमोदन दैनिकसहित विभिन्न सञ्चारमाध्यममा ‘मोहन्याल गाउँपालिकाको कार्यकारी अधिकृतको कार्यालय धनगढीमा’ शीर्षकमा समाचार प्रकाशन भएपछि प्रशासनले मोहन्याल गाउँपालिकाका कार्यकारी अधिकृत गणेश ओझालाई आफ्नो कार्यक्षेत्र जान आग्रह गरेको छ ।
‘विगतमा झैं स्थानीय तहका कर्मचारीहरूले काम गर्न मिल्दैन’ बुधबार अनुमोदन दैनिकसंगको टेलिफोन कुराकानीमा कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले भने– ‘देश संघीय संरचनामा गइसकेकोले अब कोही पनि कर्मचारीले विकट क्षेत्र भनेर जिल्ला समन्वय समितिमा अथवा शहरी क्षेत्रमा सम्पर्क कार्यालय खोलेर बस्न पाउँदैनन् ।
कैलाली प्रमुख जिल्ला अधिकारी रिजालले आफूले स्थानीय तहका कर्मचारीलाई सुझावमात्र दिन सक्ने तर, दवाब दिन नमिल्ने बताए । ‘स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आइसकेकाले उहाँहरूलाई नै कर्मचारी खटाउने अधिकार दिएको छ’ प्रमुख जिल्ला अधिकारी रिजालले आफ्नो कार्यक्षेत्रमा नगएका कर्मचारीलाई जानका लागि सुझाव दिने बताए ।
कैलालीका चुरे र मोहन्याल गाउँपालिका पहाडी तथा विकट भएकाले प्राय: कर्मचारी ती गाउँपालिकामा जान मन गर्दैनन् । अथवा गए पनि धेरै दिन नबस्ने गरेका छन् ।
चुरे र मोहन्याल गाउँपालिकामा कर्मचारीलाई काम कारबाही गर्न भौतिक संरचना भए पनि यातायात, खानेपानी, टेलिफोन सेवा, सडक सञ्जालको सुविधा कम भएकाले कर्मचारी जान नमान्ने जनप्रतिनिधिको पनि गुनासो छ ।
चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्कामगरले अनुमोदनसंग भने ‘हामी जनप्रतिनिधि निर्वाचित भएर कार्यभार सम्हालेदेखि न त कार्यालय अधिकृत सरुवा भएको थाहा हुन्छ न त कार्यालय सचिवहरूसंग सम्पर्क नै हुन्छ ।’
कैलालीको चुरे र मोहन्याल गाउँपालिकामा अझैं पनि कर्मचारी व्यवस्थापन हुनसकेका छैन ।
मोहन्याल गाउँपालिकामा सात वडा रहेकामा दुई वडा सचिव र एक प्राविधिकले सबै वडा हेर्नुपर्ने बाध्यता रहेको छ । चुरे गाउँपालिकामा कुनै पनि वडामा वडा सचिव खटाइएको छैन ।

असाेज २६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार