१० श्रावण २०८१, बिहीबार

गौचन हत्याकाण्ड : दोषिमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शन



धनगढी । सोमबार दिउँसो हत्या गरिएका नेपाल निर्माण व्यावसायी महासंघका अध्यक्ष शरदकुमार गौचनका हत्यारालाई पक्राउ गरी कडा कारबाहीको माग गर्दै मंगलबार धनगढीमा प्रदर्शन गरिएको छ ।
महासंघका अध्यक्ष गौचनको सोमबार दिउँसो काठमाडौंको शान्तिनगर, प्रयागमार्गमा गोली हानी हत्या गरिएको थियो ।
अध्यक्ष गौचनको हत्याको विरोधमा मंगलबार धनगढीमा निर्माण व्यावसायीहरूले विरोध प्रदर्शन, धर्ना गर्नुका साथै प्रशासनमा विरोधपत्र बुझाएका छन् ।
निर्माण व्यावसायीहरूले गौचन हत्या घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कडा कानूनी कारबाही नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
निर्माण व्यावसायी महासंघको आह्वानमा आउँदो बिहीबार र शुक्रबार देशभरीका निर्माण कार्य बन्द गरिने कार्यक्रम घोषणा भइसकेको छ । त्यस्तै, बुधबारदेखि हरेक दिन एक घन्टा सांकेतिक रूपमा सडक यातायात बन्द गर्ने र आवश्यक भएमा बढी समय पनि चक्काजाम गर्ने कार्यक्रम रहेको छ ।
निर्माण व्यावसायीहरूले कैलाली निर्माण व्यवसायी संघको कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म विरोध प्रदर्शन गर्नुका साथै केही बेर धर्ना समेत दिएका थिए ।
संघले महासंघका अध्यक्ष गौचनको हत्यामा संलग्न दोषिलाई तत्काल नियन्त्रणमा लिएर कडा कारबाहीको मागसहित स्थानीय प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलाई बुझाइएको ज्ञापनपत्रमा ‘महासंघका अध्यक्ष गौचनको हत्या भएको शोकको घडीमा कुनै पनि निर्माण खरिदसम्बन्धी कार्यको बोलपत्र आह्वान नगर्न सरकारसंग माग गरिएको छ ।
यसैबीच सुदूरपश्चिमाञ्चल क्षेत्रीय निर्माण व्यावसायी संघका अध्यक्ष मदनबहादुर कुँवरले राजधानीमा दिउँसै महासंघका अध्यक्ष गौचनको हत्याले सम्पूर्ण निजी क्षेत्रलाई त्रसित बनाएको बताए । सुदूरपश्चिम क्षेत्रीय निर्माण व्यवसायी संघ र कैलाली निर्माण व्यवसायी संघले मंगलबार धनगढमिा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले निर्माण व्यावसायीहरूको जीउधनको सुरक्षा गर्न सरकारसंग माग गरे ।
सो अवसरमा कैलाली निर्माण व्यावसायी संघका अध्यक्ष प्रकाशबहादुर सेठीले महासंघका अध्यक्ष गौचनलाई शहीद घोषण गर्न माग गरे ।
यस्तै, कैलाली उद्योग वाणिज्य संघले पनि उक्त घटनाप्रति भत्र्सना गरेको छ । संघले प्रेस विज्ञप्ती जारी गर्दै अपराधीलाई कारबाही गर्न माग गरेको छ । संघका अध्यक्ष शंकर बोगटीद्धारा हष्ताक्षरित विज्ञप्तीमा अपराधीलाई कठघरामा ल्याई निजी क्षेत्रको सुरक्षाको पूर्ण प्रत्याभुती शान्ति सुरक्षाको आभास दिलाउन सरकारसंग माग गरिएको छ ।
गौचनको सोमबार नयाँ बानेश्वरमा गोली हानी हत्या गरिएको थियो । प्रयाग चोकमा मोटरसाइकलमा आएका दुई व्यक्तिले उनी सवार गाडीमा पेस्तोलबाट गोली प्रहार गरेका थिए । तीन राउन्ड गोली लागेका गौचनलाई नजिकैको निजामती अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

असाेज २५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार