१० श्रावण २०८१, बिहीबार

महाकाली अस्पतालमा तनाव कायमै



कञ्चनपुर । विरामीका आफन्तले डाक्टर तथा अन्य कर्मचारीमाथि हातपात गरेपछि सोमबार पनि महाकाली अञ्चल अस्पतालमा तनाव कायमै छ ।
प्रसुतिका क्रममा भीमदत्त नगरपालिका वडा नम्बर १ बाराकुण्डा रौटेलाकी सरस्वती विष्टको नवजात शिशुको मृत्यु भएपछि आफन्तले चिकित्सक, नर्स तथा कर्मचारीमाथि हातपात गरेका थिए ।
हातपातको विरोधमा आइतबार अञ्चल अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएका थिए । सोमबार पनि बिहानैदेखि महाकाली अञ्चल अस्पतालमा कार्यरत चिकित्सक एव स्वास्थ्यकर्मीले काम रोकेका थिए ।
अर्कोतिर बिष्टका आफन्तहरू पनि चिकित्सको लापरवाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाउँदै सोमबार अस्पतालमा धर्ना दिएका छन् । उनीहरूले चिकित्सकमाथि कारबाही र प्रहरी नियन्त्रणमा रहेका बिष्टका आफन्तहरूको रिहाईको माग गरेका छन् ।
अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले डाक्टरमाथि हातपात गनेमाथि कारबाही गर्नपर्ने माग राखेका छन् ।
दोहोरो आन्दोलनका कारण अस्पतालको सेवा पूर्णरूपमा प्रभावित भएको छ । आकस्मिक कक्षमा आएका विरामीलाई पनि बिना उपचार फिर्ता पठाइएको बताइएको छ ।
सरस्वती विष्टका आफन्त अक्कल विष्टले अस्पतालको लापर्वाहीका कारण शिशुको मुत्यु भएको भन्दै लापर्वाही गर्नेलाई कारवाहीको माग गरेका छन् ।
जन्मेपछि शिशु मरेपछि उनीहरूले डाक्टर सत्यप्रकाश कोईरालामाथि हातपात गर्न खोज्दा अस्पतालमा सुरक्षार्थ खटिएका प्रहरी जवान प्रतापसिंह बोहरा घाइते भएका थिए । घाइते प्रहरी जवानको टाउकोमा चोट लागेको महाकाली अञ्चल अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डेयले बताए । उनका अनुसार, बोहराको भारतीय अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले डाक्टरमाथि हातपात गरेको आरोपमा गंगा विष्ट, कलावती विष्ट, जीतेन्द्र विष्ट, कर्ण विष्ट र वीरेन्द्र ऐरीलाई पक्राउ गरेको छ ।
नेपाल मेडिकल एसोसिएसन सुदूरपशिचम शाखाका अध्यक्ष डाक्टर प्रमोद जोशीको टोलीले घटनाबारे अध्ययन गरिरहेको बताएको छ ।

 

सम्बन्धित समाचार

महाकाली अञ्चल अस्पतालमा सेवा बन्द

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार