१० श्रावण २०८१, बिहीबार

दुई निर्माण कम्पनी कालोसूचीमा



दार्चुला । दार्चुला–तिंकर सडक निर्माणमा ढिलाइ गर्ने, तोकिएको सम्झौताअनुसार काम नगर्ने तथा मनपरी गर्ने दुई ज्वाइन्ट भेन्चर निर्माण कम्पनीलाई कारबाही स्वरूप कालोसूचीमा राखिएको छ ।
जगदम्बा नरसिंह कालापानी जेभी र रायमाझी जगदम्बा नरसिंह जेभीलाई गत वर्षको फागुनदेखि एक वर्षका लागि कालोसूचीमा राखिएको जनाइएको छ ।
प्रधानमन्त्रीको कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौंले दुई प्याकेजका काम गर्ने दुवै कम्पनीलाई कालोसूचीमा राखेको हो । यद्यपि, उनीहरूले अदालतबाट ‘स्टे अर्डर’ जारी गराए पनि काम भने थालेका छन् ।
सुस्त गतिमा सडक निर्माण भएको र बजेट खर्च गर्न नसक्ने योजनाका रूपमा रहेको दार्चुला–तिंकर सडक निर्माणलाई दु्रत गति दिन सार्वजनिक खरिद अनुगमन कार्यालयले ८ निर्माण ज्वाइन्ट भेन्चरलाई तीन वर्षमा एक करोड १२ लाख रुपैयाँभन्दा बढी जरिवाना समेत गरेको जनाइएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले आर्थिक वर्ष २०७१/०७२ मा जगदम्बा–नरसिंह–कालपानी जेभीलाई सात लाख ५३ हजार, जागृति–मालिकार्जुन–शिखर जेभीलाई एक लाख ७५ हजार र गोल्डेन गुड–नरसिंह–कालापानी जेभीलाई २१ लाख ४५ हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार