१० श्रावण २०८१, बिहीबार

मोहना–अत्तरिया छ लेन सडक : एक नम्बर ठेक्काको काम अझैं शुरु भएन



धनगढी । निर्माणाधीन मोहना–अत्तरिया छ लेन सडक आयोजना अन्तर्गत एक नम्बर ठेक्काको काम अझै सञ्चालन हुनसकेको छैन ।
सो सडक आयोजना अन्तर्गतको २ नम्बर ठेक्का र ३ नम्बर ठेक्काको काम धमाधम भइरहँदा एक नम्बर ठेक्काको काम रोकिएको छ । स्थानीयका अनुसार ठेकदारको लापरवाहीका कारण काम रोकिएको छ । मोहना–अत्तरिया ६ लेन सडक निर्माण आयोजना कार्यालयले १ नम्बर ठेक्काको काम छिटो अगाडि बढाउन ठेकदारलाई ताकेता गरिएको जानकारी दिएको छ ।
मोहना–अत्तरिया सडकको लम्बाई १४ दशमलव दुई किलोमिटर रहेको छ । मोहना (त्रिनगर भन्सार) देखि बोराडाँडीसम्मको साढे चार किलोमिटर सडकखण्ड निर्माणको ठेक्का नागार्जुन कन्स्ट्रक्सन प्रालिले पाएको छ ।
त्यस्तै, बोराडाँडीदेखि अत्तरियासम्मको २ नम्बर र ३ नम्बर ठेक्का साउँद कन्स्ट्रक्सन प्रालिले पाएको छ । २ र ३ नम्बर ठेक्काको काम शुरु भइसकेको छ ।
सो सडक आगामी दुई वर्षभित्र निर्माण पुरा गर्ने गरी ठेक्का सम्झौता भएको छ । दशै अगाडि नै १ नम्बर ठेक्काको पनि काम शुरु हुनुपर्नेमा अझैं भएको छैन ।
मोहना–अत्तरिया ६ लेन सडक आयोजना प्रमुख नविनमान श्रेष्ठले १ नम्बर ठेक्काको काम छिटो अगाडि बढाउन नार्गाजुन कन्स्ट्रक्सन प्रालिलाई पटक–पटक ताकेता गरिएको बताए । उनले काम गर्न केही प्राविधिक चुनौति भए पनि काम शुरु गर्न ढिलाई भएको बताए ।
सो सडक निर्माणको लागत एक अर्ब ५८ करोड ६४ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

असाेज २३ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार