१० श्रावण २०८१, बिहीबार

मेल्लेखमा चार सय जग्गाधनी लालपुर्जाबाट वञ्चित



अछाम । अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ३ का चारसय परिवारले अझैं जग्गाधनी पुर्जा (लालपुर्जा) पाउन सकेका छैनन् ।
जग्गाको पुन:नापी कार्य सकिए पनि तत्कालीन अछाम आक्रमणका बेला लालपुर्जालगायत सबै कागजात जलेपछि कुनै प्रमाण नहुँदा उनीहरूले लालपूर्जा पाउन सकेका छैनन् ।
अछामको पुन:नापी कार्य भएसँगै २०७१ मा विशेष नापी कार्यालयले नापनक्सा कार्य गरे पनि लालपुर्जा पाउन नसकेको स्थानीय हेमराज शाहले बताए ।
जग्गा नापी भएर पनि दर्ता नभएका कारण उनीहरूले विभिन्न सरकारी सेवा सुविधाबाट समेत बञ्चित हुनुपरेको छ । उनीहरूले लालपुर्जा नभएका कारण कृषिकर्जा लिन पनि समस्या भएको बताए ।
विशेष नापी टोलीले जग्गा नापनक्सा गरिसकेको भए पनि पुरानो कागजात फेला नपर्दा समस्या भइरहेको बताइएको छ । नापनक्सा भए पनि व्यक्तिका नाममा जग्गा भएको कागज नभेटिएपछि लालपुर्जा वितरण गर्न नसकेको विशेष नापी अछामका प्रमुख सीयाराम ठाकुरले बताए ।
मेल्लेख गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले जग्गा दर्ता प्रक्रिया पूरा गर्न र लालपुर्जा वितरण गराउनका लागि गाउँपालिकाबाट निर्णय भइसकेको बताए ।

असाेज २३ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार