१० श्रावण २०८१, बिहीबार

महाकाली अञ्चल अस्पतालमा सेवा बन्द



महेन्द्रनगर । महाकाली अञ्चल अस्पतालमा आइतबार आकस्मिक बाहेकका सबै उपचार सेवा बन्द गरिएको छ । अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरूमाथि हातपात भएको भन्दै आइतबार आकस्मिकबाहेकका सबै उपचार सेवा बन्द गरिएको हो ।
शनिबार राति सुत्केरी गराउन ल्याइएकी एक महिलाको नवजात शिशुको मृत्यु भएपछि आफन्तहरूले ड्युटीमा रहेका डाक्टर, नर्स तथा अन्य कर्मचारीमाथि हातपात गर्नुका साथै अस्पतालमा तोडफोड गरेको बताइन्छ । अस्पताल प्रशासनले सुत्केरीका आफन्तहरूले ड्युटीमा रहेका डाक्टर, नर्ससहितका कर्मचारीमाथि हातपात गरेको जनाएको छ ।
अस्पताल प्रशासनका अनुसार शनिबार बेलुका भीमदत्त नगरपालिका वडा नम्बर १ बारकुन्डाकी गर्भवती सरस्वती बिष्टलाई प्रसूतिका लागि अस्पताल ल्याइएको थियो । प्रसूतिका क्रममा नवजात शिशुको मृत्यु भएपछि आफन्तहरू आक्रोसित भएका थिए । उनीहरूले डाक्टरको लापरबाहीका कारण बच्चाको मृत्यु भएको आरोप लगाए ।
‘शुरुमा पाठेघरको मुख पूरै खुलिसकेको थिएन, बच्चाको टाउको बर्थिङ क्यानलमा पुगेर अड्कियो’ उपचारका क्रममा रहेका डाक्टर सत्य कोइरालाले भने– ‘त्यो अवस्थामा कि त महिलाले नै प्रेसर दिनुपर्छ नभए टाउकोमा भ्याकुम लगाएर बच्चा निकाल्नुपर्ने हुन्छ ।’ डाक्टर कोइरालाले टाउकोमा भ्याकुम लगाएर बच्चा निकालेपछि चेकजाँच गर्दा मृत्यु भइसकेको बताए ।
उनले टाउको बर्थिङ क्यानलमा अड्किएपछि बच्चाले दिसा गरेको र सोही दिसा नाक र मुख हुँदै फोक्सोसम्म पुगेकाले बच्चाको मृत्यु भएको हुनसक्ने बताए ।
तर, सुत्केरीका आफन्तले भने डाक्टरको लापरवाहीका कारण नै नवजात शिशुको मृत्यु भएको आरोप लगाए । ‘शुरुमा सुत्केरी व्यथा लागेपछि ल्याउँदा चिकित्सकले शिशु र महिलाको अवस्था राम्रो छ भने’ सुत्केरीकी सासु कमला बिष्टले भनिन्– ‘चिकित्सकको लापरबाहीकै कारण बच्चाको मृत्यु भएको हो ।’
शिशुको मृत्यु भएपछि बिरामीका आफन्तले डाक्टर कोइरालामाथि हातपातको प्रयास गरेका थिए । हातपात रोक्ने प्रयासमा रहेका ड्युटीमा खटिएका प्रहरी जवान प्रतापसिंह बोहराको टाउकोमा चोट लागेको छ । उनको टाउकोमा चार टाँका लगाइएको छ ।
प्रहरीले अस्पतालमा तोडफोड तथा चिकित्सकमाथि हातपात गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असाेज २३ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार