१० श्रावण २०८१, बिहीबार

कैलाली जिल्ला अदालतमा दुई इजलास मात्र सञ्चालनमा



धनगढी । कैलाली जिल्ला अदालतमा एक वर्षअघि तीन इजलास (बेञ्च) को व्यवस्था र सञ्चालन भए पनि अहिले दुई इजलास मात्र सञ्चालनमा रहेका छन् । मुद्दाको चाप अनुसार इजलास (बेञ्च) सञ्चालन गर्ने व्यवस्थाअनुसार एक वर्षअघि तीन इजलास सञ्चालन भएका थिए ।
एक वर्षमा सरदर पाँच सयसम्म मुद्दा दर्ता हुने जिल्ला अदालतमा एक इजलास तथा एक हजार मुद्दासम्म दुई र त्यसभन्दा बढी मुद्दा दर्ता हुने जिल्ला अदालतमा तीन इजलास रहने व्यवस्था रहेको छ ।
कैलाली जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष प्रेम चन्दका अनुसार हाल कैलालीमा वार्षिक सरदर एक हजार दुई सय बढी मुद्दा सुनुवाईको क्रममा रहेका हुन्छन् । कैलाली जिल्ला अदालतमा मुद्दाको चाप अधिक भए पनि दुई मात्र इजलास भएका कारण फछ्र्यौट कार्यमा प्रभाव परिरहेको अध्यक्ष चन्दको अनुभव छ ।
कैलाली जिल्ला अदालतमा चालु आर्थिक वर्ष २०७४/०७५ को पहिलो दुई महिना (साउन र भदौं) मा एक सय चार मुद्दा फछ्र्यौट गरेको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा दर्ता भएका एक सय ७० मुद्दा र गत आर्थिक वर्ष २०७३/०७४ बाट सरेर आएका पाँच सय ८६ मुद्दा सहित सात सय ५६ मुद्दामध्ये कैलाली जिल्ला अदालतले दुई महिनामा १५ प्रतिशत मुद्दा फछ्र्यौट गरेको जनाइएको छ ।
कैलाली जिल्ला अदालतका शाखा अधिकृत नरबहादुर नेगीका अनुसार आर्थिक वर्ष २०७३/७४ मा एक हजार दुई सय ४७ मुद्दा दर्ता भएकोमा पाँच सय ८६ मुद्दा फछ्र्यौट हुन सकेनन् ।
गत वर्ष अदालतले ७० प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिए पनि विविध कारणले लक्ष्य प्राप्त गर्न नसकेको उनले बताए । शाखा अधिकृत नेगीका अनुसार गत आर्थिक वर्षमा जिल्ला अदालतले ५३ प्रतिशत मुद्दा फछ्र्यौट गरेको थियो ।
अदालतमा तीन इजलास (बेञ्च) को व्यवस्था भए पनि दुई मात्र सञ्चालन हुँदा मुद्दा फछ्र्यौटमा प्रभाव परेको उनको भनाई छ ।
त्यस्तै, यस वर्ष स्थानीय तहको निर्वाचनमा जिल्लाका मुख्य न्यायधिश मुख्य निर्वाचन अधिकृतका रूपमा काम गर्न खटिदा एउटै मात्र इजलास सञ्चालन भएकाले मुद्दा फछ्र्यौटमा कमी आएको उनले बताए ।
कैलाली जिल्ला अदालतमा अहिले जिल्ला न्यायधिश धनसिंह महरा र जिल्ला न्यायधिश भुवनसिंह थापाको पनि सरुवा भइसकेको छ । न्यायधिश महराको ललितपुर र न्यायधिश थापाको विराटनगर सरुवा भएको छ ।
कैलाली जिल्ला अदालतमा न्यायधिस बिष्णुप्रसाद अर्याल र न्यायधिश पर्शुराम भट्टराई नियुक्त भएका छन् ।

असाेज २१ (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार