१० श्रावण २०८१, बिहीबार

डडेल्धुरा काँग्रेसमा विवाद चुलियो : सांसदसहित १४ जनामाथि कारबाही सिफारिस



डडेल्धुरा । गुटबाजी गरी पार्टीलाई कमजोर बनाएको आरोपमा नेपाली काँग्रेस डडेल्धुराले १४ जना नेतामाथि कारबाही सिफारिस गरेको छ ।
डडेल्धुरा काँग्रेसले कारबाहीका लागि सिफारिस गरेका नेताहरूमा सांसद नरभान कामीदेखि नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरसम्म रहेका छन् ।
काँग्रेस डडेल्धुराको बैठकका निर्णयबारे जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टीको विधिविधान, पद्धति र संस्कार विपरित गुटबाजी गरी पार्टीलाई कमजोर बनाइरहेका १४ जनालाई कारबाहीका लागि केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिएको बताइयो ।
नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्ण मल्लले पछिल्लो जिल्ला सचिवको नेतृत्वमा छुट्टै भेला गरेर प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिफारिसको नाटक गरिएको आरोप लगाए । उनले पार्टीको जिल्ला कार्यसमितिको बैठक बहिस्कार गरी छुट्टै बैठक गरिएको आरोप लगाए ।
डडेल्धुरा काँग्रेसले कारबाहीका लागि सिफारिस गरिएका नेताहरूमा सांसद कामी, नेविसंघ अध्यक्ष महर, जिल्ला सचिव लक्ष्मीप्रसाद अवस्थी, कोषाध्यक्ष हरिप्रसाद अवस्थी, पूर्व जिल्ला सभापति रघुवर भट्ट, महासमिति सदस्य गोविन्द बोहरा, महाधिवेशन प्रतिनिधि तथा परशुराम नगरपालिका प्रमुख भीमबहादुर साउँद, हरिप्रसाद भट्ट, जिल्ला सदस्य मानकुमारी थापा, पार्वतीदेवी झुकाल, हेमराज चटौत, डिल्लीराज जोशी, चन्द्री टमटा र कौशिला देवी भट्ट रहेका छन् ।

विवादबीच दुई पक्षबाट सिफारिस
नेपाली काँग्रेस डडेल्धुराले प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारका लागि नेपाली कांग्रेस डडेल्धुराले उम्मेदवारको नाम सिफारिस गरेको छ ।
पार्टी सभापति कर्ण मल्लको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई सर्वसम्मतीबाट सिफारिस गरेको छ ।
त्यस्तै, प्रतिनिधिसभा समानुपातिकतर्फ नेतृ नारुदेवी ओझा, पदम बिष्ट र भरत नेपालीलाई सिफारिस गरिएको छ ।
त्यस्तै, प्रदेश सभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा गोपादेवी थापा, रवीन्द्र खड्का, र हिक्मतसिंह ठाकुर तथा क्षेत्र नम्बर २ का लागि जिल्ला सभापति मल्ल, उपसभापति करुणाकर भट्ट र महाधिवेशन प्रतिनिधि तारक बुढाऐरलाई सिफारिस गरिएको छ ।
अर्कोतिर, पूर्व जिल्ला सभापति रघुवर भट्ट समूहले पनि प्रतिनिधि सभा र प्रदेश सभाका लागि छुट्टै सिफारिस गरेको जनाइएको छ ।

असाेज १९ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार