१२ श्रावण २०८१, शनिबार

सद्भावका लागि एकजुट हुँदै युवा



धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ८ का लौटनकुमार चौधरीलाई युवाहरू एकजुट भएर नै गाउँमा शान्ति तथा सद्भाव कायम गर्न सकिने विश्वास जागेको छ । उनको विश्वासलाई युवा सञ्जाल समन्वय समितिले अझ बलियो बनाएको छ । त्यसैले उनी अहिले सोही समन्वय समितिमार्फत सामाजिक सद्भाव कायम गर्न अग्रसर भएका छन् । भन्छन्– ‘गाउँको विकासका लागि युवाको अहम् भूमिका हुने भएकाले युवा सञ्जाल समन्वय समितिले उनीहरूलाई एकजुट गर्न बलियो आधार बनाउने छ ।’
लौटनकुमार र उनीजस्तै अधिकांस युवालाई भरखर सम्पन्न स्थानीय तहको निर्वाचनमा राजनीतिक आस्थाका कारण युवाहरू अलगअलग पार्टीमा लागेको अनुभव छ । उनीहरू पनि महसुस गर्छन्– ‘चुनावले ल्याएको विभाजन अहिले पनि पुरिएको छैन । एक गाउँमा बस्छन्, तर चुनावले मन फाँटेका छन्, कतिपयको त अहिले पनि बोलचाल भएको छैन ।’ ‘यसैले पनि सामाजिक सद्भाव प्रवद्र्धनका लागि युवाहरूबीच एकता हुनु आवश्यक हुन्छ’ युवा सञ्जाल समन्वय समितिका उपाध्यक्ष उर्मिला चौधरीको पनि अनुभव छ ।
कैलालीमा अहिले पनि दुई वर्षअघिको टीकापुर घटनाको प्रभाव देखापर्ने गर्दछ । कैलालीमा सामाजिक सद्भावको प्रसंग उठ्दा टीकापुरमा २०७२ भदौ ७ र ८ गते भएको हिंसात्मक घटना र त्यसपछिका दिनमा लामो समयसम्म सिर्जना भएको आशंका, डरत्रास, एकअर्काप्रतिको अविश्वासको कालखण्डलाई स्मरण गरिन्छ । ‘साच्चै नै सामाजिक सद्भाव बिग्रदा समाजमा निकै अप्रिय स्थिति आउँदो रहेछ’ उर्मिला भन्छिन्– ‘त्यसैले युवाहरूलाई सामाजिक सद्भावका साथै गाउँमा विकास निर्माण कार्यमा एकजुट बनाउनु अनिवार्य नै भएको छ ।’
कैलारी गाउँपालिकामा गठन भएको युवा सञ्जाल समन्वय समितिमार्फत युवाहरूबाट सामाजिक सद्भाव प्रवद्र्धन तथा विकास निर्माण कार्यमा हातेमालो हुनेमा राजनीतिकर्मीको पनि अपेक्षा छ । नेपाली काँग्रेस कैलाली, क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति खेमराज चौधरीको धारणा छ– ‘जोसजाँगरले भरिएका युवा एकजुट हुँदा सामाजिक सद्भाव प्रवद्र्धनका साथै गाउँको आर्थिक विकासमा निश्चय नै ठूलो योगदान पुग्छ ।’
समन्वय समितिका सचिव पतिराम चौधरी पनि यो समितिको पहिलो काम नै गाउँमा सामाजिक सद्भाव बृद्धि गर्नु भएको बताउँछन् । उनी भन्छन्– ‘यससंगै गाउँमा शिक्षा, स्वास्थ्य, विकास निर्माण, खानेपानी लगायतका कार्यमा पनि यो सञ्जालको भूमिका रहने छ ।’ सञ्जालले स्थानीय तह तथा सरकारी निकायका निर्णय प्रक्रियामा युवाको सहभागिता तथा प्रतिनिधित्व बृद्धि गर्नुपर्ने बताएको छ ।
मुक्त कमैया महिला विकास मञ्चका कार्यक्रम अधिकृत ईन्द्रबहादुर चौधरीको धारणा पनि यस्तै राख्दछन् । उनका अनुसार अहिले कैलालीमा गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका वडा नम्बर ८ मा ‘सामाजिक सद्भाव अभिवृद्धिका लागि युवाहरूको पहल कार्यक्रम’ लागू भएको छ ।
कैलारी गाउँपालिका वडा नम्बर ८ का आठ वटा टोलबाट एकरएक जनाको प्रतिनिधित्व हुने गरी ११ सदस्यीय युवा सञ्जाल समन्वय समिति गठन गरिएको छ । समितिको अध्यक्षमा लौटन चौधरी, उपाध्यक्ष उर्मिला चौधरी, सचिव पतिराम चौधरी, कोषाध्यक्ष हिमा ढुंगाना र सहसचिवमा महेश चौधरी रहेका छन् ।
त्यस्तै, सदस्यमा निश्चल चौधरी, राजकुमार चौधरी, संगीता चौधरी, नरेन्द्र चौधरी, लक्ष्मी भुल र पतिराम चौधरी रहेका छन् ।
त्यस्तै, वडा नम्बर ८ का वडाध्यक्ष दुस्खीराम कठरिया संयोजक रहेको र रामचरण चौधरी, ईन्द्र चौधरी, राजाराम चौधरी र खेम चौधरी सदस्य रहेको पाँच सदस्यीय सल्लाहकार समिति पनि बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार