६ कार्तिक २०८१, मंगलवार

स्थानीय तह प्रमुखहरू भन्छन्– बालुवागिट्टीको निकासी बन्द गर्नुपर्छ



धनगढी । कैलालीका स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूले जिल्लाभित्र भौतिक संरचना निर्माणका लागि ढुंगा, गिट्टी, बालुवा लगायतका प्राकृतिक स्रोतको जिल्ला बाहिर निकासी बन्द गर्नुपर्ने माग गरेका छन् ।
जनप्रतिनिधिहरूले यी सामग्री निकासीका लागि गरिएको ठेक्का पनि रद्द गर्न माग गरेका छन् । उनीहरूले जिल्लाभित्र निर्माण कार्यले तीब्रता लिने भएकाले ढुंगा, बालुवा, गिट्टीको अभाव हुन नदिन निकासी ठेक्का रद्द गर्नुपर्ने बताए ।
सोमबार कैलालीको गोदावरी नगरपालिकाको बुढीतोलामा आयोजित बैठकमा जनप्रतिनिधिहरूले कैलालीमा संकलन हुने ढुंगा, गिट्टी, बालुवा बाहिर निकासी गरिएमा जिल्लाभित्रको मागको आपूर्तिमा बाधा पुग्ने बताए ।
बैठकमा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले मोहना पुलदेखि अत्तरियासम्म्को छ लेन सडक आयोजनाका लागि मात्रै ११ लाख घनमिटर ढुंगा, बालुवा र गिट्टी आवश्यक रहेको बताए । उपहानगरप्रमुख वडले भने– ‘कैलालीभित्र उत्खनन् हुने ढुंगा, बालुवा र गिट्टी बाहिर निकासी गरिएमा यहाँको माग धान्न सकिन्न, त्यसैले यी वस्तुको निकासी ठेक्का रद्द गरिनु पर्दछ ।’
बैठकमा गौरीगंगा नगरपालिका प्रमुख भीमबहादुर देउवाले ठेकदारहरूले नदीखोलाबाट जथाभावी ढुंगा, बालुवा र गिट्टी संकलन गरिरहेको आरोप लगाए । नगर प्रमुख देउवाले नदीखोलाबाट ढुंगा, बालुवा र गिट्टी संकलन, उत्खनन्को नियमित अनुगमन आवश्यक रहेको बताए ।
लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाईले तराईका नदीमा ढुंगा, बालुवा र गिट्टीको मात्रा कम हुने भएकाले ठेकदारहरूले चुरे दोहन गरिरहेको बताए । नगर प्रमुख बजगाईंले चुरे क्षेत्रमा अत्यधिक दोहनका कारण तराईमा बढी बाढी र डुबानको समस्या बढिरहेको बताए ।
बैठकमा कैलालीका स्थानीय विकास अधिकारी केशवप्रसाद विमलीले राजमार्ग र पुलको उत्तर तथा दक्षिण पाँच सय मिटरको दूरीभित्र ढुंगा, बालुवा र गिट्टी निकाल्न नियमानुसार रोक लगाइएको चर्चा गरे ।
स्थानीय विकास अधिकारी बिमलीले नदी र खोलाको घाट वा आकृति विग्रने गरी नदी तथा खोलाको किनारमा ढुंगा फोड्न नपाइने, ढुंगा, बालुवा, गिट्टी तथा माटो संकलन गर्न मेसिनको प्रयोग गर्नुपरेमा वातावरणीय प्रभाव मूल्यांकनको मापदण्डअनुसार जिल्ला समन्वय समितिको अनुमति लिएर र घाटगद्दी स्थल तोकेर मात्र प्रयोग गर्न पाउने बताए ।
उनले ठेक्का लिएका ठेकेदारले नियमअनुसार काम गरेको वा नगरेको निगरानी राख्न सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी आवश्यक रहेको बताए ।
कैलाली जिल्लामा चालू आर्थिक वर्ष २०७४/७५ मा ढुंगा, बालुवा तथा गिट्टी निकासीका लागि चार करोड ८० लाख रुपैयाँको ठेक्का स्वीकृत भएको छ ।

असाेज १० गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार