सिट क्षमताभन्दा बढी यात्री नबोक– प्रशासन



धनगढी । स्थानीय प्रशासनले यात्रीबाहक बसका चालक तथा मालिकहरूलाई सिट क्षमताभन्दा बढी यात्री नबोक्न आग्रह गरेको छ ।
स्थानीय प्रशासनले चाडबाडको समयमा बसमा आवतजावत गर्ने यात्रीको चाप हुने भएकाले सुरक्षित यात्राका लागि ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
आइतबार कैलाली जिल्ला प्रशासनमा बसेको बैठकले ट्राफिक नियम पालना नगरेको पाइएमा कानूनी कारबाही गरिने दोहोर्‍याएको छ । बैठकपछि प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सिट क्षमताभन्दा बढी यात्री बोकेका कारण दुर्घटनामा बृद्धि भएको सन्दर्भमा यात्री स्वयं पनि सचेत हुन आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी रिजालले दशैंतिहारको समयमा यात्रीहरूको चापलाई दृष्टिगत गरी बस संख्या बृद्धि गर्न आग्रह गरिएकोमा यातायात व्यावसायीहरू सहमत भएको बताए ।
सुदूरपश्चिम बस व्यावसायी समितिले दशैंतिहारलाई लक्षित गरी सुदूरपश्चिमका पहाडी जिल्लाका लागि दैनिक सरदर २० वटा यात्रुबाहक बस सञ्चालन गर्ने जनाएको छ । अन्य समयमा ती जिल्लाका लागि दैनिक ११ वटा बस सञ्चालन हुने गरेका थिए । सुदूरपश्चिम बस व्यावसायी समितिका अध्यक्ष टेकराज जोशीले यात्रीहरूको सुविधालाई ध्यानमा राखेर बस थप गरिरहेको बताए ।
कर्णाली रिभरसाइड बस समितिका अध्यक्ष धिरज शाहीले यात्रीको सुविधाका लागि हाल राजधानीतर्फ खाली बस पठाइरहेको बताए । ‘काठमाडौंबाट यता (धनगढी) आउने यात्रीको चापलाई दृष्टिगत गरी अहिले दैनिक यताबाट खाली बस समेत पठाउने गरेका छौं’ अध्यक्ष शाहीले सुदूरपश्चिमका पहाडी जिल्लाका लागि पनि आवश्यकताअनुसार थप बस पठाइरहेको बताए ।
जिल्ला प्रशासन कार्यालयले यात्रीबाहक बसको छतमा व्यापारिक सामान नबोक्न पनि पुन: चेतावनी दिएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी रिजाल, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, गोदावरी नगपालिका प्रमुख हरिसिंह साउँद, ट्राफिक प्रहरीका अधिकृत, यातायात व्यावसायी लगायतको सहभागिता रहेको थियो ।

असाेज ०९ गते (epaper)

प्रतिक्रिया दिनुहोस्