१ जेष्ठ २०८१, मंगलवार

बजार अनुगमनमा गएका राज्यमन्त्रीलाई अवरोध



टीकापुर । आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकको टोलीलाई टीकापुरका व्यापारीले बजार अनुगमनमा अवरोध गरेका छन् ।
शनिबार बिहान आपूर्ति मन्त्रालयका अधिकृत, गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य कार्यालय तथा साल्ट ट्ेरडिङ कर्पोरेशनका प्रतिनिधि रहेको अनुगमन टोलीले बिष्ट आयल स्टोर, बलायर ट्ेरडर्स र अमृत गौतम किराना पसलमा अनुगमन गरेको थियो ।
बिष्ट आयल स्टोरमा डिजल वितरण गर्ने मेसिनले मापनभन्दा बढी फालेको र पेट्रोलमा प्रतिलिटर ३० मिलिलिटर कम दिएको भेटिएको बताइएको छ ।
बलायर र अमृत गौतम किराना पसलमा उपभोग्य म्याद समाप्त भएका वनस्पति घ्यु, खानेतेल, सोयाबिन लगायतका खाद्य सामग्री बरामद भएका थिए । आपूर्ति मन्त्रालयका अधिकृत गोविन्द लुईंटेलका अनुसार दुवै पसलमा खरिद बिल नभएका, राजश्व छलेका र इजाजत नभएका सामान समेत बिक्रीका लागि राखेको पाइएको थियो ।
‘धेरैजसो सामान बिक्री योग्य नभएकाले शिल गर्न खोजेका थियौं, तर व्यापारीहरूले दुव्र्यवहार गरे’ उनले व्यापारीहरूले मन्त्रीको गाडी समेत तोडफोड गरेको बताए ।
व्यापारीको अवरोध र उद्योग वाणिज्य संघका पदाधिकारीहरूको अनुरोधमा राज्यमन्त्री विक बजार अनुगमन छोडेर टीकापुर उद्योग वाणिज्य संघको कार्यालय पुगेका पनि त्यहाँ बस्ने वातावरण नभएपछि होटल फर्किएका थिए ।
यसैबीच, उद्योग वाणिज्य संघको आह्वानमा अधिकांस व्यापारी पसल बन्द गरेर राज्यमन्त्री बसेको होटलमा पुगेका थिए । प्रत्यक्षदर्शीका अनुसार होटल परिसरमै राज्यमन्त्री चढेको बा १ झ ९६९९ नम्बरको गाडीको सीसा फुटाइएको थियो ।
तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र गिरी र महासचिव रामबहादुर भण्डारीलाई केहीबेर नियन्त्रणमा राखेको थियो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले व्यापारीले बजार अनुगमन कार्यमा अवरोध गरेर गल्ती गरेको बताए । उनले व्यापारीबाट गुणस्तरहीन सामग्री बिक्री गर्न पाउने अधिकार खोज्नु गलत भएको बताए ।
टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष परशुराम चपाईले आफूहरू अनुगमनको पक्षमा भए पनि परिस्थिति अन्यत्र गएकोमा दु:ख व्यक्त गरे ।
यसैबीच, टीकापुरका विद्यार्थी संगठनले बजार अनुगमन टोलीमाथि व्यापारीहरूले गरेको अवरोधको विरोध गरेका छन् ।
खुला बजार र उपभोक्ताले गुणस्तरीय बस्तु उपभोग गर्न पाउनु पर्ने हक विपरित उपभोक्ताको स्वास्थ्य र जीवनसंग खेलवाड गर्ने र राजश्व छल्ने व्यापारीका पक्षमा लाग्दै उद्योग वाणिज्य संघबाट समेत अवरोध हुनु गलत भएको विज्ञप्तिमा उल्लेख छ ।
अनेरास्ववियू कैलालीका अध्यक्ष देवेन्द्र शाह, अनेरास्ववियू क्रान्तिकारी कैलालीका उपाध्यक्ष चक्रबहादुर विष्ट, अखिल क्रान्तिकारी कैलालीका कोषाध्यक्ष पदमप्रसाद काफ्ले, टीकापुर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी यूनियनका अध्यक्ष सुरेशप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा अनुगमन कार्यलाई नियमित गर्न र दोषीलाई कारवाही गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार